सुनसरी ।  उदयपुरमा प्याराग्लाइडिङ दुर्घटना हुँदा जापानी नागरिक काजी ताकासीको मृत्यु भएको छ। 

७२ बर्षीय ताकासीले बुधबार साँझ उदयपुरको बेलका नगरपालिका स्थित बोप्ताङ डाँडाबाट  सोलो प्याराग्लाइडिङ उडान गरेका थिए । उनको प्याराग्लाइडिङ दुर्घटना भएर सप्तकोशी नदी नजीकै फूटबल मैदानमा खसेको थियो । 

 गम्भीर घाइते भएका उनको  धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बेलका नगरपालिकाको बोप्ताङस्थित फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कूलको टेकअफ ल्यान्डबाट ताकासी उडेका थिए।  शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको जनाइएको छ । 

कोशी प्रदेश प्रहरीका प्रवक्ता भीमबहादुर दाहालले शव जापान पठाउन कानूनी प्रक्रिया भइरहेको र यसबारे काठमाडौंस्थित जापानी दूतावासलाई जानकारी गराइएको बताए।