सुनसरी– दोस्रो संस्करणको स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि मोरङको केराबारी फुटबल क्लबले जितेको छ ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा बिहिबार भएको फाइनल खेलमा केराबारीले लोहोरुङ फुटबल क्लब संखुवासभालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
केराबारीलाई उपाधी जिताउन खेलको १५ मिनेटमा नाइजेरियन खेलाडी एलेक्सले निर्णायक गोल गरे ।
विजेता केराबारीले उपाधी सहित नगद दुई लाख ५० हजार रुपैया हात पारेको छ । उपविजेता लोहोरुङले एक लाख ३० हजार रुपैयामा चित्त बुझायो ।
खेलको म्यान अफ दि म्याच केराबारीका एलेक्स घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।
विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी केराबारीका प्रवेश बस्नेत घोषित हुँदै नगद १५ हजार प्राप्त गरे । केराबारीकै रोशन कार्की उत्कृष्ट गोलरक्षक, सुजन चौधरी उत्कृष्ट डिफेन्डर, नितेश लिम्बु सर्वाधिक गोलकर्ता घोषित भए ।
लोहोरुङका हेमन लिम्बू उत्कृष्ट मिडफिल्डर र जीवन लोहोरुङ उत्कृष्ट फरवार्ड घोषित भए ।
उनीहरु सबैले जनही नगद १० हजार प्राप्त गरे । राइजिङ प्लेयर आयोजक द योङ ब्रदर्श क्लबका सलोज जिमी घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे ।
विजेता तथा उपबिजेता खेलाडीहरूलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङमाङले पुरस्कार वितरण गरे ।
माघ १७ गतेदेखि भएको प्रतियोगितामा कोशी प्रदेशका बिभिन्न जिल्लाका आठ वटा टिम सहभागी थिए ।