सुनसरी । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको फाइनलमा साबिक बिजेता एनआरटीले चर्च ब्वाइज युनाइटेड विरुद्ध शनिबार प्रतिस्पर्धा गर्दैछ ।

धरान–१६ स्थित धरान रंगशालामा हुने फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ । फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरे । दुवै कप्तान र प्रशिक्षकले एक अर्कामा परिचित भएकाले एकले अर्कोलाई कमजोर नआँक्ने बताए ।

पहिलो पटक फाइनल पुगेको चर्च ब्वाईज नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा रहेको कप्तान अनन्त तामाङले बताए । यसअघि १० औं संस्करणको उपाधि जितेको साबिक बिजेता एनआरटी उपाधी संख्या बढाउन आतुर र इतिहास दोहो¥याउन सक्षम रहेको कप्तान सरोज तामाङले बताए । 

जारी सिजनमा चर्च ब्वाइजले ४ वटा प्रतियोगिताको फाइनल खेलिसकेको छ । झापा कप र फाल्गुनन्द गोल्डकप जितेको चर्च ब्वाइजले इलाम गोल्डकप र सिक्किमको गभर्नस गोल्डकपमा उपबिजेता भएको थियो ।

२ वटा फाइनलमा चर्च ब्वाइज र एनआरटीबिच प्रतिष्पर्धा भएको थियो । गत मंसिरमा इलाम गोल्डकपको फाइनल एनआरटीले चर्च ब्वाइजलाई ३–० ले हराएको थियो । तर झापा कपको फाइनलमा चर्च ब्वाइजले एनआरटीलाई ३–१ ले हराएको थियो । त्यसपछी यी दुई टिम शनिवार बुढासुब्बाको फाइनल खेल्न लागेका हुन ।