सुनसरी – १५ औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल फागुन ३ गते देखी हुने भएको छ ।
इटहरीको सबैभन्दा पुरानो राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप एक सातासम्म चल्ने शनिवार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको छ । इटहरी रङ्गशालामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक अनुरोध थापाले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख रुपैयाँ प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार र प्रत्येक खेलको म्यानअफ द म्याच हुने खेलाडीले १० हजार पाउने छन् । सर्वाधिक गोलकर्तालाई २५ हजार प्रदान गरिनेछ । इटहरी उपमहानगरपालिका संयोजन रहेको प्रतियोगितामा साबिक विजेता चर्ज ब्वाईज युनाइटेड, मछिन्द्र फुटबल क्लब, न्युरोड टिम एनआरटी, झापा ११ फुटबल क्लब, धरान फुटबल क्लब, युनाईटेड खर्साङ फुटबल क्लब युकेएफसी भारत, दुई पटकको च्याम्पियन सगरमाथा यूथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब गरी ८ टिमको सहभागिता रहने छ ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार ८१ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिका तथा वडा कार्यालयबाट १७ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । गत संस्करणमा खेलकुद विकास बोर्ड कोसी प्रदेशले १५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ नआएपछि १ लाख ३२ हजार रुपैयाँ घाटा लागेको प्रतियोगिता संयोजक थापाले बताए ।

पत्रकार सम्मेलनमा आयोजकले खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी) बिच प्रतिस्पर्धा हुनेछ । फागुन ४ गते सगरमाथा यूथ क्लब मोरङ र न्यूरोड टिम काठमाडौँ (एनआरटी) बिच खेल हुनेछ ।

फागुन ५ गते मछिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११ बिच प्रतिस्पर्धा हुने तालिका छ । अन्तिम क्वाटरफाइनलमा फागुन ६ गते चर्च ब्वाइज युनाइटेड ललितपुर र धरान फुटबल क्लबबिच प्रतिस्पर्धा हुने खेल संयोजक थापाले जानकारी दिए ।