सुनसरी — एनआरटीले बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको उपाधि जितेको छ । शनिबार धरान रंगशालामा सम्पन्न फाइनलमा साबिक बिजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

एनआरटीलाई लगातार दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जिताउन हेनरी एडिसे पोकोले दुई गोल गरेका थिए । उनले खेलको २६ र ५८ औं मिनेटमा गोल गरेका हुन् । त्यसअघि चर्च ब्वाइजबाट अनन्त तामाङले खेलको २३ औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए पनि पुनरागमन गर्न नसक्दा एनआरटी भाग्यमानी साबित भयो ।

विजेता एनआरटीले १० लाख रुपैयाँ पुरस्कार जितेको छ । उपबिजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । एनआरटी १० औं संस्करणको उपाधि विजेतासमेत हो । व्यक्तिगत पुरस्कारतर्फ पनि एनआरटीले वर्चस्व कायम गरेको छ । सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए । उनलाई एक लाख रुपैयाँ पुरस्कार पाए । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्मान्ड भिदोङ घोषित भए । उनीहरूले ३–३ गोल गरेका थिए । दुवैलाई ३५ हजार पुरस्कार प्रदान गरियो ।

उत्कृष्ट गोलकिपर एनआरटीका प्रमिजय गच्छदार, उत्कृष्ट प्रशिक्षक एनआरटीका हरिओम श्रेष्ठ, उत्कृष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की चुनिए । उनीहरूले जनही २५ हजार पुरस्कार पाए ।

एन्फाले प्रतियोगिता जुधाएकै कारण एनआरटी र चर्च ब्वाइजका केही खेलाडी धरान–पोखरा–धरान दौडधुपको कारण थकित देखिन्थे । एउटै क्लबबाट दुई टिम बनाएर आहा रारा र बुढासुब्बा गोल्डकपमा यी टिम सहभागी भएका थिए । एनआरटीले क्वाटरफाइनलमा झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ ले पराजित गरेको थियो । टोलीले सेमिफाइनलमा यूकेएफसी भारतलाई ३–१ गोलले नै हराएको थियो ।

पहिलो पटक फाइनल पुगेको चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेको थियो । सेमिफाइनलमा भुटानको आरटीसी क्लबविरुद्ध चर्च ब्वाइज ७–० को फराकिलो जितसहित उपाधि भिडन्तमा पुगेको हो । विजेता खेलाडीलाई एन्फाका अध्यक्ष पंकज नेम्वाङ, वरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।