सुनसरी । पदिय मर्यादा विपरित काम गरेको भन्दै बेलबारी नगरपालिकाले प्रशासन शाखा प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ ।
बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको निर्देशनमा प्रशासन शाखाका प्रमुखको जिम्मेवारीमा रहँदै आएका अधिकृतस्तर आठौँ महेन्द्र खड्कालाई जिम्मेवारीबाट हटाइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले अधिकृत खड्कालाई जिम्मेवारीबाट हटाएको पत्र माघ २९ गते पठाएका छन् । माघ २८ गते बसेको १२७ औँ कार्यपालिका बैठकले अधिकृत खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो ।
‘कार्यपालिकाको गोपनियता भङ्ग गर्ने, कार्यालयको हित विपरित काम कारबाही गर्ने लगायत पदिय मर्यादा विपरित काम कारवाही गरेको पाइएको हुँदा निजलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक व्यवस्थापनका लागि मुख्यन्त्री तथा मन्त्री परिषद्को कार्यालय, विराटनगरमा लेखी पठाउने सर्वसम्मत निर्णय गरियो ।’ भनी कार्यपालिकाले निर्णय गरेको छ ।
बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले कार्यपालिका बैठकको निर्णय आफुले कार्यान्वयन मात्रै गरेको बताएका छन् ।
प्रशासकीय अधिकृत ढकालले भने, ‘कार्यपालिका बैठकमा मेयरले कर्मचारीबाट काम गर्न समस्या भयो भन्दै प्रस्ताव राख्नुभयो, सो प्रस्तावमा उपस्थित सबैले पारित गरिएको हो । मैले बैठकको निर्णय कार्यान्वयन गरेको हो ।’
मेयर राई र कर्मचारी खड्का बीच विवाद रहँदै आएको प्रशासकीय अधिकृत ढकालले बताएका छन् ।
यता, कर्मचारी खड्कालाई अप्रजातान्त्रिका शैलीमा आफ्नो कुरा राख्ने मौका पनि नदिइ जिम्मेवारीबाट हटाइएको भन्दै उप प्रमुख नितु थापा कोइरालाले विरोध जनाएकी छिन् ।
उपप्रमुखले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेकी हुन । उनले मेयरले आफुसँग कुनै छलफल नै नगरी एकलौटी ढंगबाट निर्णय गरिएको भन्दै गम्भिर असुन्तुष्टि जनाएकी छिन् ।
उपप्रमुख थापाले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्ध सुधार गरेर जनताको असन्तुष्टिलाई न्यूनीकरण गराउनुको बदला झन् झन् दुरी बढाउने काम कारबाहीले कुनै पनि सफलता हासिल गर्न सकिन्न भन्ने कुरा महसुस गरी कार्यसम्पादनमा सबैको उपस्थिति र सहमतिलाई नजर अन्दाज नगर्न प्रमुख राईलाई आग्रह गरेकी छिन् ।
आफु उपप्रमुख र न्यायिक समितिको संयोजक समेत भएको कारण कर्मचारीको पिरमर्काको विषयलाई न्यायसँगत रुपमा हेर्नुपर्ने उपप्रमुख थापाले बताइन ।