सुनसरी । जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई फैसला कार्यान्वयनका क्रममा फरार रहेका पाँच जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले अदालतबाट भएको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इटहरी–१६ का किशोरकुमार चौधरी र भुलाल चौधरी रहेका छन्।

दुवै जना लुटपिट, गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका थिए। उनीहरूलाई जनही २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

त्यसैगरी चोरी मुद्दामा सदाम मंसुरी पक्राउ परेका छन्। सुनसरीको कोशी गाउँपालिका–४ का मंसुरीलाई अदालतले ७५ दिन कैद सजाय तोकेको थियो।

यस्तै, लागूऔषध मुद्दामा मोरङको विराटनगर–१३ का विक्रमकुमार साह पक्राउ परेका छन्। उनलाई अदालतले १०५ दिन कैद सजाय सुनाएको थियो।

वन मुद्दामा उदयपुरको बेलका–७ का मणिराज राई पनि पक्राउ परेका छन्। उनलाई अदालतले २२ हजार ३८८ रुपैयाँ जरिवाना तोकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका अन्य व्यक्तिहरूको समेत खोजीलाई तीव्रता दिएको जनाएको छ।