सुनसरी । नेपाली काँग्रेस इटहरी नगर समितिका उपसभापति कोविदजंग कार्कीले आसन्न नगर अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको नयाँ कार्य तालिका सार्वजनिक भएसँगै हाल उपसभापति रहेका कार्कीले सभापतिका लागि आफ्नो उम्मेदवारी रहने बताएका हुन ।
नेपाली काँग्रेसले आज १५ औँ महाधिवेशनको मिति सार्वजनिक गर्दै कार्य तालिका सार्वजनिक गरेको छ । आगामी असोज ३ र ४ गते गाउँ नगर वडा अधिवेशनको मिति तोकिएको छ । त्यस्तै असोज ७ गतेका लागि गाउँ नगरपालिका अधिवेशनको मिति तोकिएको छ ।
अर्को कुनै घटना सिर्जना नभए तोकिएको मितिमा अधिवेशन हुँदा इटहरी उपमहानगरपालिकाको नगर अधिवेशन असोज ७ गते हुनेछ ।
वडा तथा नगर अधिवेशनको मिति नजिकिएसँगै आकाङ्क्षीहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेसँगै आफूले पनि दाबेदारी प्रस्तुत गरेको उपसभापति कोविदजंग कार्कीले बताएका छन् ।
उम्मेदवारी घोषणासँगै कार्यकर्तासँग भेटघाटको कार्यक्रम अगाडी बढाएको उनले बताएका छन् ।
इटहरीका विभिन्न वडा तथा गाउँ टोलमा पुगेर त्यहाँ पार्टीका साथीहरूसँग आफ्नो एजेन्डा सुनाउँदै छलफललाई अगाडी बढाएको उपसभापति कार्कीले बताएका छन् ।
सभापतिमा उम्मेदवारी घोषणा गरेका कार्कीले आफ्ना एजेन्डा पनि सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेस इटहरीलाई व्यक्ति केन्द्रित नभएर सङ्गठन केन्द्रित बनाउने आफ्नो मुख्य एजेन्डा भएको कार्कीले बताए ।
उनले भने, ‘नेपाली काँग्रेस इटहरीलाई व्यक्ति केन्द्रित होइन, सङ्गठन केन्द्रित; गुट केन्द्रित होइन, जन केन्द्रित; चुनावमुखी होइन, जनसेवामुखी पार्टी बनाउने मेरो मुख्य एजेन्डा हो ।’
आज उठेको परिवर्तनको चाहना केवल नेतृत्व परिवर्तन मात्र नभएर राजनीतिक संस्कारसँगै कार्यशैली परिवर्तनको माग पनि भएको बताउँदै कार्कीले पुरानो सोच र शैलीबाट माथि उठेर प्रविधिमैत्री, परिणाममुखी काँग्रेस बनाउन आफू लाग्ने बताए ।
आफ्नो उद्देश्य पुरा गर्ने स्पष्ट योजना भएको उनले सुनाए । नगरका कार्यकर्ता तथा मतदाताहरूलाई आफ्ना ५ बुँदे एजेन्डा सुनाउन थालेको उनले बताए ।
उम्मेदवार कार्कीले उठाएका ५ एजेन्डा
१. सङ्गठन सुदृढीकरण
इटहरीका २० वटै वडामा पार्टी सङ्गठनलाई सक्रिय बनाउने, व्यवस्थित र चलायमान बनाउँदै प्रत्येक टोलसम्म काँग्रेसको उपस्थिति पु¥याउने ।
२. युवालाई नेतृत्वमा अवसर
युवा, महिला, विद्यार्थी तथा नयाँ पुस्तालाई जिम्मेवारी र नेतृत्वमा अर्थपूर्ण सहभागिता गराउँदै काँग्रेसलाई नयाँ पुस्ताको भरोसाको पार्टी बनाउने ।
३. आन्तरिक लोकतन्त्र र एकता
गुट–उपगुटभन्दा माथि उठेर सबै काँग्रेसजनलाई समान सम्मान र अवसर दिने । असहमतिको सम्मान गर्दै संवाद र सहमतिबाट सङ्गठन सञ्चालन गर्ने । असन्तुष्ट आवाजलाई सम्मान गर्ने, ती आवाजलाई पनि सम्बोधन तथा कार्यान्वयनमा लैजाने ।
४. जनतासँग प्रत्यक्ष सम्बन्ध
‘काँग्रेस कार्यालयमा होइन, जनताको घर–आँगनमा’ भन्ने अभियान सञ्चालन गर्दै नागरिकको समस्या सुन्ने, सम्बन्धित निकायमा आवाज उठाउने र समाधानका लागि निरन्तर पहल गर्ने ।
५. पारदर्शिता र जबाफदेहिता
पार्टीको आर्थिक तथा सङ्गठनात्मक गतिविधिलाई पारदर्शी बनाउने र सभापतिसहित नेतृत्वलाई कार्यकर्ताप्रति नियमित रूपमा जबाफदेही बनाउने ।

















