सुनसरी । कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा बलान बिहुल सप्तरी टाइगर्स र पुर्बेली सुपर किंग्स विजयी भएका छन् ।
सुनसरीको भोक्राहास्थित डाक्टर खलिल आजाद क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा सप्तरीले भोक्राहा नरसिंह अर्नाजलाई ३२ रनले पराजित गर्यो । सप्तरीले दिएको १२५ रनको समान्य लक्ष्य पछ्याउने क्रममा भोक्राहा अर्नाज ९२ रनमा अलआउट हुन पुग्यो । उसका लागि सन्दीप ढुंगानाले सर्वाधिक २५ रन बनाउनुबाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
सप्तरीका लागि रामनरेश गिरिले ५ विकेट लिएपछि भोक्राहा जारी प्रतियोगितामा पहिलो हार बेहोर्न पुग्यो । गिरीले ३ दशमलव ३ ओभरमा केवल १७ रन मात्र खर्चिए । बिशाल सुसलिङ र अभिषेक कार्कीले समान २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसका लागि विशालले सर्वाधिक ३० रन बनाए ।
कप्तान रोहन विकले २२ र अरनिको यादवले २१ रन बनाए । भोक्राहाको बलिङमा सन्दीप ढुंगाना र रोहन शाहले समान ३ विकेट लिँदा हेमन्त धामीले २ तथा शेर मल्लले १ विकेट लिए ।
बिहीबार नै भएको दोस्रो खेलमा ललित राजवंशीको टिम पुर्बेली सुपर किंग्स विराटनगरले एनबीएससी लायन्स विराटनगरमाथि ९ विकेटले फराकिलो जित निकालेको छ । एनबीएससी लायन्सले दिएको २७ रनको झिनो लक्ष्य पुर्बेली सुपर किंग्सले ४ ओभरमा सहजै भेटायो । उसका लागि सुमन गहतराजले १८ र अर्जुन साउदले ११ रन बनाए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एनबीएससी लायन्सले १३ दशमलव ३ बलमा केवल २६ रन मात्र बनाउन सक्यो । २४ रनमा ४ विकेट गुमाएको अवस्थाबाट उसले अन्तिम ६ विकेट केवल २ रनको लागि खर्च गर्न पुग्यो । उसका अन्तिम क्रमका ४ ब्याटरले रन बनाउन सकेनन् । ५ ब्याटर खाता नखोली पेभिलियन फर्किए ।
लायन्सका प्रदीप पासवानले सर्वाधिक ६ रन बनाउँदा निरज मुखिया र कृतिक कामतले समान ५ रन बनाए । पुर्बेली सुपर किंग्सको बलिङमा प्लेयर अफ द म्याच घोषित दिवान पुनले ४ विकेट लिए । उनले ३. ३ ओभरमा ७ रन मात्र खर्चिए । सौगात भट्टराईले ३, कप्तान ललित राजबंशीले २ तथा मुकुन्द यादवले १ विकेट लिए ।