सुनसरी — प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ । कोशी प्रदेश क्रिकेट संघले चार दिनसम्म आयोजना गरेको छनोट प्रतियोगिताको प्रदर्शनको आधारमा सुवेदीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो । छनोट प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको थियो । च्याम्पियन बनेको सुनसरीबाट प्रकाश कार्की, सुमन गहतराज र भुपाल लुईंटेल गरी तीन जना मात्र टोलीमा समेटिएका छन् ।

छनोट प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको मोरङबाट दिपेश कँडेल, फिर्दोश अन्सारी, चिराग शाह, सकिब हक र श्रवण किस्कु गरी सर्वाधिक ५ जना टोलीमा अटाएका छन् ।

झापाबाट कप्तान सुवेदी, विपिनकुमार महतो र समिर कार्की गरी तीन जना टोलीमा समेटिएका छन् । उदयपुरबाट आइस भट्टराई र सोनु अन्सारी छन् । इलामबाट सन्दिप ढुंगाना मात्र टोलीमा समेटिएका छन् ।

टिमको प्रशिक्षकको जिम्मेवारी नेपाली राष्ट्रिय टोलीका पूर्वलेग स्पिनर राजकुमार प्रधानलाई दिइएको छ । आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेटमा कोशीले पहिलो खेल लुम्बिनी प्रदेशसँग सिद्धार्थ क्रिकेट मैदानमा खेल्ने तालिका छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीसहित १० टोलीले सहभागिता जनाउने छन् ।