सुनसरी– विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफले प्रथम इनरुवा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सुनसरी सदरमुकाम इनरुवास्थित जेल फिल्डमा शनिवार सम्पन्न उद्घाटन खेलमा एपीएफले चुलाचुली स्पोर्ट क्लब झापालाई ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफले विजयी सुरुवात गरेको हो ।
एपीएफको जीतमा समीर दर्जीले ह्याट्रिक गरे । दिलसन राईले एक गोल थपे । चुलाचुलीका मिक्सो लिम्बुले एक गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेनन् ।
खेलको म्यान अफ दी म्याच विजयी टिमका समीर दर्जी घोषित भए ।
आइतबारको दोस्रो क्वाटरफाइनल खेल विराटनगर सिटी फुटबल क्लब र मनोहरा एकीकृत युवा क्लब काठमाण्डौबिच प्रतिस्पर्धा हुने आयोजक इनरुवा फुटबल क्लबका अध्यक्ष अनुप खड्काले जानकारी दिए ।
चैत्र ५ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित नेपालका १० टिम सहभागी छन् ।
विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।