सुनसरी । सरकारले बजेट उपलब्ध नगराउँदा तमोर करिडोरको काम प्रभावित बनेको छ । सुनसरीको चतराबाट धनकुटाको मुलघाटहुँदै मेची राजमार्ग जोड्ने तमोर कोरिडोर सडक आयोजनाको मुलघाट–हाङ्गठूवा खण्डको ६४ प्रतिशत काम पुरा भएको छ । बजेट अभावमा ठेक्का लागेको दोस्रो खण्डको हाङ्गठूवा–गणेश चौक सडकमा कालोपत्रेको काम सुरु भएको छैन । ट्र्याक खुले पनि स्रोत सुनिश्चित नहुँदा मुलघाट चतरा तेस्रो खण्डको काम पनि अघि बढेको छैन ।
          तमोर कोरिडोर सडक आयोजनाको एक सय ५५ किलोमिटर मध्ये मुलघाट–हाङ्गठूवा खण्डको ४६ किलोमिटरमा काम भने तीव्र रूपले अघि बढेको आयोजना कार्यालय सुनसरीले जनाएको छ । निर्माणाधीन यो सडक खण्डमा ढुवानी र यातायातका साधन चल्न थालेका छन् । आयोजनाको मुलघाट–हाङ्गठूवा खण्ड सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दालाई सडक सुविधा थपिएको भैंसेटार धनकुटाकी स्थानीय दिलमाया माझी बताउनुहुन्छ ।  
tamor koridor pull
       तमोर कोरिडोर आयोजना कार्यालय धरान सुनसरीका अनुसार दुई अर्ब ७० करोड रुपैयाँ लागतको मुलघाट–हाङ्गठूवा खण्डको कुल भौतिक प्रगति ६४ प्रतिशत पुगेको छ । ६४ मध्ये २४ किलोमिटरमा कालोपत्रे सकिएको छ । पाँच किलोमिटर नाला निर्माणको काम बाँकी छ । यो खण्डको निर्माण अवधि २०८२ कार्तिकसम्म हो । तर तोकिएको म्याद अगावै यो खण्डमा कालोपत्रेको काम सम्पन्न गर्ने निर्माण कम्पनी रौता क्षमादेवी निर्माणका 
प्रतिनिधि इन्जिनियर विश्व श्रेष्ठले बताउनुभयो ।
       धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका स्थानीयलाई सुविधा पुग्ने गरी निर्माणाधीन एक सय ५५ किलोमिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरिएको छ । मुलघाट–हाङ्गठूवा ६६ किलोमिटर पहिलो,  हाङ्गठूवा–गणेश चौक ४६ किलोमिटर दोस्रो र चतरा–मुलघाट ४३ किलोमिटर तेस्रो खण्ड हुन् । यस मध्ये दोस्रो खण्डका लागि ठेक्का लागिसके पनि कालोपत्रे सुरु भएको छैन । तेस्रो खण्ड अन्तर्गत चतरा–मुलघाट ४३ किलोमिटरमा ट्र्याक खुलिसके पनि कालोपत्रेको प्रक्रियामा लैजान बजेट सुनिश्चित नभएको आयोजना कार्यालय धरानका प्रमुख प्रदीप निरौलाले जानकारी दिनुभयो । स्रोत सहमति नजुट्दा चतरा–मुलघाट खण्डको काम अलमलमा परेको आयोजना कार्यालयको भनाई छ ।