सुनसरी– इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेस गरेको छ । नगर उपप्रमुख संगिता कुमारी चौधरीले मङ्गलवार सुरु १६ औँ नगर सभामा गत वर्षभन्दा एक अर्ब कमको अनुमानित बजेट प्रस्तुत गरेकी हुन । चालु आर्थिक वर्षको लागि गत वर्ष उपमहानगरले ३ अर्ब ५७ करोड ८३ लाख ५० हजार रुपैयाँको बजेट विनियोजन भएको थियो । नगर सभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८२/०८३ को अनुमानित बजेटमा संघीय समानिकरण अनुदान २८ करोड ३० लाख, संघीय सशर्त अनुदान चालु खर्च तर्फ ४७ करोड १६ लाख , संघीय सशर्त अनुदान पुँजीगत खर्च तर्फ ४३ करोड २० लाख संघीय समपूरक अनुदान १ करोड ३६ लाख, संघीय विशेष अनुदान १ करोड ४२ लाख, प्रदेश समानिकरण अनुदान २ करोड ७५ लाख ६६ हजार, प्रदेश सशर्त अनुदान चालु खर्च तर्फ ७८ लाख ५ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्च तर्फ १ करोड २९ लाख २५ हजार, संघीय राजश्व बाँडफाँड १९ करोड २५ लाख १० हजार ७ सय ५९ रुपैयाँ, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) २ करोड १ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिस्ट्रेसन ) ४० करोड, आन्तरिक श्रोतबाट ५८ करोड, र नगद मौज्दात परिवर्तनबाट ९ करोड ६७ लाख २० हजार २ सय ४१ रुपैयाँ गरी कुल जम्मा २ अर्ब ५५ करोड २१ लाखको अनुमानित बजेट पेस गरिएको हो ।
आगामी आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । जसमा संघीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ । यस्तै, इटहरीको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिने मुख्य योजनामा समेटिएको छ । बजेटमा इटहरीलाई सुन्दर सहर बनाउन सौन्दर्यीकरण लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकार भित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदल यात्रीको सहजताका लागि कोसी राजमार्ग दुई वटा आकासे पुल निर्माण गर्न बजेट छुटाइएको छ । विश्व बैङ्कसँगको सहयोगमा इटहरीमा मुख्य समस्याको रूपमा रहेको बाढी तथा डुबान समस्या दीर्घकालीन रूपमा समाधानका लागि नमुना कार्यक्रमका रूपमा आएका प्रकृतिमा आधारित मोडेलबाट बाढी नियन्त्रण गर्ने कार्यको सम्भाव्यता चालु आर्थिक वर्षमा भइसकेकोमा आगामी वर्ष कार्यान्वयनमा ल्याइने भएको छ ।
बजेटमै सहमति हुन नसकेपछि धरान उपमहानगरपालिको बजेट आउन सकेन । कार्यपालिकाले पारित गर्नुपर्ने बजेटमा सहमती नभएपछी नगरसभा अनिश्चित हुदै धरान उपमहानगरले आगामी आर्थिक बर्षको लागि बजेट पस्तुत गर्न नसकेको हो । नगरप्रमुख हर्क साम्पाङ र उपमेयर सहित सबै कार्यपालिका सदस्यहरुबिच सहमती हुन नसक्दा धरानको नगरसभा अनिश्चित बनेको हो ।