विराटनगर । एमाले महाधिवेशनका लागि केही जिल्ला बाहेक कोशीका अधिकांश जिल्लाहरूमा निर्वाचन हुने पक्का पाएको छ । महाधिवेशन प्रतिनिधिका लागि तोकिएको कोटा भन्दा बढी उम्मेदवार भएपछि निर्वाचनबाट प्रतिनिधि छनौटको तयारी भएको छ । नेकपा एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले सर्वसम्मत प्रतिनिधि छनौट हुन नसके लोकतान्त्रिक पद्धतिमा गएर निर्वाचनका माध्यमबाट प्रतिनिधि छनौट गर्ने तयारी भएको बताए । 

हाल सम्म हिमाली जिल्ला सोलुखुम्बुमा  मात्रै सर्व प्रतिनिधि छनौट सम्पन्न भएको छ । एमालेको महाधिवेशनका लागि सोलुखुम्बुबाट खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला  सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । 
यस्तै उत्पीडिततर्फ डी बि रानापाल , महिलातर्फ कल्पना राई र मोहन कुमारी कार्की महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । यसै गरी ४० वर्ष मुनीका युवाबाट  जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधिमा छनौट भएको एमाले कोशीका सचिव भण्डारीले बताए । 
यसै गरी पाँचथर र इलामबाट पनि सर्व सम्मत प्रतिनिधि छनौट हुने भण्डारीले बताए । उनले भने, इलाम र पाँचथरमा सर्वसम्मत प्रतिनिधि छनौट हुने छन् । यसका लागि तयारी पुरा भएको छ । अन्तिम नामावली प्रकाशन गर्न मात्रै बाँकी छ । एमालेको महाधिवेशनमा पाँचथरबाट ७ जना र इलामबाट ९ जना महाधिवेशनका लागि प्रतिनिधि चयन हुने छन् । भोजपुरमा पनि सर्वसम्मतको प्रयास जारी रहेको र शुक्रवार बेलुका सम्म सर्वसम्मत प्रतिनिधि छनौट हुने सम्भावना रहेको भण्डारीले बताए । 
आसन्न महाधिवेशनका लागि अन्य जिल्लामा भने सर्व सम्मत प्रतिनिधि चयनमा सकस भएको छ । तोकिएको प्रतिनिधि सङ्ख्या भन्दा तेब्बर भन्दा बढिले मनोनयन दर्ता गराएपछि सर्वसम्मत नेतृत्व चयन हुन गाहे देखिएको छ । पाटीमा काम गरेका नेता तथा कार्यकर्ताको सङ्ख्या धेरै रहेको र महाधिबशेन प्रतिनिधि जान आकाङ्क्षी धेरै देखिएको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बताए । उनले भने, प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गराउने साथीहरूको सङ्ख्या ठुलो छ । हामीले सर्वसम्मतको प्रयास जारी राखेका छौ । 

कोशी प्रदेशमा केन्द्रीय गुट भन्दा पनि स्थानीय रूपमा प्यानलहरू तय भएका छन् । महाधिवेशन प्रतिनिधि कसरी जित्ने भन्ने हिसाबले स्थानीय स्तरमा प्यानलहरू बनेका छन् । केन्द्रमा भन्दा फरक फरक प्यानल बनेका छन् एक एमालेका झापाका एक नेताले भने, माथि एउटै गुट भए पनि तल भने फरक फरक प्यानलहरू बनेका छन् ।

सुनसरीमा पनि सोही अनुसारका प्यानलहरू बनेका छन् । क्षेत्र अनुसार प्यानल नै प्रतिस्पर्धा हुने देखिएको एमाले सुनसरीका इन्चार्ज जगदीश कुसियैतले बताए । उनका अनुसार माथिको प्यानल भनेर हल्ला पिटाइएको छ । तर अवस्था त्यस्तो होइन । 
कोशी प्रदेशबाट सबै भन्दा बढी मोरङबाट महाधिवेशन प्रतिनिधि छनौट हुने छन् ।  ४६ जना प्रतिनिधि छनौट हुनु पर्नेमा मोरङमा १४५ जनाले मनोनयन दर्ता गराएका छन् । 

मनोनयन दर्ता गराएकाहरूले मनोनयन फिर्ता गर्ने अवस्था नभएको एमाले मोरङको उपाध्यक्ष सागर थापाले बताए  । एमाले प्रदेशको अधिवेशन देखि नै प्रदेशमा प्यानल भिडन्त भएको थियो । महाधिवेशनमा प्यानल भिडन्त भन्दा पनि क्षेत्र अनुसार समूह तय भएको देखिएको छ । थापाले भने, यहाँ  प्यानल भन्दा पनि स्थानीय स्तरमा समूहहरू बनेका छन् । समूह अनुसार प्रतिनिधिका लागि मत माग्न पाटी सदस्यहरूका बिचमा नेताहरू पुग्ने गरेका छन् । 

झापामा सबै भन्दा बढी उम्मेदवार 

यसै गरी धेरै सदस्य भएको र प्रतिनिधि समेत बढी छनौट भएर जाने झापामा पनि अवस्था उस्तै रहेको छ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिका लागि झापामा १४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । झापाबाट ३८ जना प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गरेको एमाले झापा सचिव तुलसी कार्कीले बताए  । 

झापाबाट ११ औँ राष्ट्रिय महाधिवेशनमा खुल्लाबाट १९ जना, महिला १२, युवा ५ र दलित २ जना प्रतिनिधि सहभागी हुने छन् । उनका अनुसार खुल्लामा १०२ जना, महिला ४२, युवा ३३ र दलितमा ७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

झापा क्षेत्र नं १ को खुल्लामा ३ जनाका लागि ६, महिलामा २ जनाका लागि ३, युवामा १ जनाका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै क्षेत्र नं। २ को खुल्लामा ५ जनाका लागि ३३, महिलामा ३ जनाका लागि ६, युवामा १ जनाका लागि ९ जनाले उम्मेदवारी दिएका हुन् । क्षेत्र नं ३ को खुल्लामा ३ जनाका लागि १३, महिलामा २ जनाका लागि ५, युवामा १ जनाका लागि ७ जनाले उम्मेदवारी दिए । 

क्षेत्र नं  ४ को खुल्लामा ४ जनाका लागि १०, महिलामा २ जनाका लागि ४, युवामा १ जनाका लागि २ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ५ को खुल्लामा ४ जनाका लागि २१, महिलामा ३ जनाका लागि १२, युवामा १ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधि छनौटका लागि मङ्सिर १२ गते उम्मेदवारी फिर्ताको समय  रहेको छ । आज राती सम्ममा सर्वसम्मत प्रतिनिधि टुङ्गो नलागे  १३ गते निर्वाचनबाट प्रतिनिधि छनौट गरिने छ ।