सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–३ लामो समयदेखि एक व्यक्तिको राजनीतिक प्रभावले चिनिने क्षेत्र हो ।
त्यो नाम हो—विजय कुमार गच्छदार । २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका गच्छदार २०७९ को निर्वाचन बाहेक प्रायः अपराजित जस्तै देखिए । सत्ता समीकरण बदलिँदा पनि प्रभाव जोगाइराख्ने क्षमता, पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर, र केन्द्रमा पहुँच—यी सबैले उनलाई ‘सदाबहार शक्ति’को छवि दिलायो ।
२०२६ सालदेखि महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिबाट यात्रा आरम्भ गरेका गच्छदार २०४८, २०५१, २०५६ सालको निर्वाचनमा जीत निकालेर ह्याट्रिकको इतिहास कायम गर्न सफल नेताकोरुपमा चिनिन्छन ।
उनी नेपाली काँग्रेसबाट लगातार तीन पटक सुनसरीबाट सांसद निर्वाचित र मन्त्री भए । २०६४ मा काँग्रेस परित्याग गरी मधेसी जनअधिकार फोरम प्रवेश गरेर पनि संविधानसभा निर्वाचनमा विजयी भए ।
२०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक योजना मन्त्री बने । २०७० मा संविधानसभा–२ को चुनावमा  फोरम लोकतान्त्रिक गठन गरी सुनसरी–३ बाट विजयी भए । २०७४ असोजमा फोरम लोकतान्त्रिकलाई नेपाली काँग्रेसमा विलय गराई काँग्रेस उपसभापतिको हैसियतमा पुन काँग्रेसमा फर्किए । २०७४ मंसिरको चुनावमा सुनसरी–३ बाट एमालेकी भगवती चौधरीलाई झिनो मतले हराउँदै विजयी भएका उनी विरुद्ध २०७६ सालमा ललिता निवास जग्गा प्रकरणमा अख्तियारद्वारा मुद्दा दायर गरेपछि सांसद पद निलम्बनमा परेको थियो ।
विशेष अदालतले सफाइ दिए पनि अख्तियारले पुनरावेदन गरेको मुद्दा अझै विचाराधीन छ । लगातार सत्तामा रहेका गच्छदारको यात्रामा २०७९ सालले ब्रेक लगायो । भगवती चौधरीले करिब ५ हजार मतान्तरले पराजित गर्दै तीन दशक लामो वर्चस्व तोडिन् । राजनीतिक यात्रा दलगत उतार–चढावले भरिएका गच्छदारको राजनीतिक लचकता आवश्यक परे दल परिवर्तन गर्ने, तर आधार क्षेत्र जोगाइराख्ने उनको मुख्य शक्ति रह्यो । तर यस पटक पनि गच्छदार पराजित भएका छन् ।
सुनसरी–३ थारु समुदायको बाहुल्य क्षेत्र हो । यहाँको चुनाव प्रायः थारु नेताहरूबिचकै प्रतिस्पर्धामा केन्द्रित रहँदै आएको छ । तर अहिलेको परिदृश्य फरक रह्यो । नेकपा एमालेकी भगवती चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अशोक कुमार चौधरी, जनमत पार्टीका रामनारायण थारु नेपाली कम्युनिस्ट पार्टीका दुर्गेश चौधरी र अन्य दलका उम्मेदवार । यी सबैले परम्परागत ‘भोट बैङ्क’ लाई खण्डित गर्ने सम्भावना बढाएका थिए । तर अशोकले एकलौटी भोट ल्याएर नयाँ तरङ्ग उत्पन्न गराए । २०७९ मा रास्वपाले यहाँ ६ हजारभन्दा बढी मत ल्याएको थियो ।
त्यो मत मुख्यतः असन्तुष्ट युवा र परिवर्तन चाहने समूहबाट आएको थियो । यस पटक त्यो मत बढेमा गच्छदारको ‘कोर’ आधारमै क्षति पुगेको छ । लामो समय एउटै नेतृत्व देख्दा मतदातामा स्वाभाविक रूपमा उत्पन्न हुने ‘परिवर्तन चाहना’ अहिले सुनसरी–३ मा पनि देखिएको छ । तीन दशकको वर्चस्वले केही मतदातामा थकान जन्माएको यो मत परिणामले जनाएको छ ।
गच्छदारलाई टिकट दिँदा नेपाली काँग्रेस भित्रै नयाँ अनुहारलाई अवसर दिनुपर्ने आवाज उठिरहेको थियो ।
पुनः गच्छदारलाई टिकट दिँदा युवा कार्यकर्तामा केही निराशा देखिएको थियो । जसले मत परिणाममा असर पारेको विश्लेषण छ ।