सुनसरी । काठमाडौंमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल कोशी प्रदेशका खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई नगदसहित पुरस्कृत गरिएको छ ।
गत जेठ २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजित प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले ४ स्वर्ण, ७ रजत र १७ कांस्य पदक जितेका थिए ।
अघिल्लो संस्करणमा पदक बिहिन बनेको कोसी प्रदेशले यस पटक कुल २८ पदकका साथ पाँचौ स्थान हासिल गरेको थियो । एथलेटिक्स, कराते, जुडो र तेक्वान्दो तर्फ पदक जितेका खेलाडी सहित अफिसियलहरुलाई प्रदेश सरकारले प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गरेको हो ।
करातेमा स्वर्ण पदक जित्न सफल सुनसरीका हिरा मगर, झापाकाका प्रनिशा मगर, उदयपुरका शशिका आलेमगर र तेक्वान्दोमा स्वर्ण बितेता सुनसरीका युमी राईलाई जनही एक–एक लाख रुपैया सहित पुरस्कृत गरिएको हो ।
यस्तै रजत पदक बिजेता सुनसरीका कराते खेलाडी प्रमोद राई, मोरङका मानस थापा, सुनसरीका उसु खेलाडी अजिब राई, झापाका एथलेटिक्स खेलाडी टंक यादव, सुनसरीकी तेक्वान्दो खेलाडी रिसिका यादव, ओखलडुंगाकी एथलेटिक्स खेलाडी उमिता राईलाई जनही नगद ७५ हजार सहित पुरस्कृत गरिएको छ ।
त्यस्तै कांस्य पदक विजेतामा संखुवासभाकी एथलेटिक्स खेलाडी सुष्मिता बस्नेत, सुनसरीका सोहेल मन्सुरी, सुनसरीकै कराते खेलाडी निरोज थापा मोरङका पुष्पराज योग्पाङदेन, प्रकृति गुरुङ पनि पुरस्कृत भएका छन ।
पाँचथरका उसु खेलाडी गौरव बिक, सुनसरीकी निमोषा याख्खा, झापाका राशिम राई, आशिका तिरुवा, झापाका दिप्सस नेम्बाङ, मोरङका अरुण दास, अरुणा बिक, पाँचथरकी रोशिका काम्बाङ पनि पुरस्कृत भएका छन ।
यस्तै सुनसरीका तेक्वान्दो खेलाडी लेसन राई, झापाकी रेशिका घिमाल, मोरङका निशम घिमाल पनि पुरस्कृत भएका छन । काश्य पदक बिजेता उनीहरूलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
पदक बिजेता खेलाडीहरुलाई मुख्यमन्त्री हिक्मत कुमार कार्की र समाजिक बिकास मन्त्री रामप्रसाद मेहेताले पुरस्कृत गरे ।
प्रदेश सरकारले खेलाडीको मनोबल बढाउन पुरस्कार वितरण गरेको भन्दै आगामी राष्ट्रिय प्रतियोगितामा अझ राम्रो प्रदर्शनको अपेक्षा राखेको कोसी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव बिप्लव घोषले जानकारी दिए ।

















