सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ लाई नेपाली राजनीतिको ‘उर्वर भूमि’ भनेर चिनिन्छ ।
यही क्षेत्र हो, जहाँबाट पाँच पटकसम्म प्रधानमन्त्री बनेका स्वर्गीय गिरिजाप्रसाद कोइराला उदाएका थिए ।
गिरिजापछि यही क्षेत्रबाट सुजाता कोइराला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली काँग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहादुर कार्की पटक–पटक सत्ताको केन्द्रसम्म पुगे ।
तर दुई पटक सत्तामा पुगेका कार्की यस पटक फराकिलो मतान्तरले पराजित भए । राजनीतिक हिसाबले अत्यन्तै शक्तिशाली मानिने सुनसरी–४ ले तीन दशकमा देश हाँक्ने नेतृत्व त दियो, तर आफ्नै भौतिक र सामाजिक विकासमा भने अझै अपेक्षित फड्को मार्न सकेको छैन ।
यो पनि हारको एउटा कारण हो । बि.सं २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका स्वर्गीय गिरिजाप्रसाद कोइरालाले यही क्षेत्रबाट जित हासिल गरे ।
त्यसपछि २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम (हाल जसपा) का अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की लगातार दोस्रो पटक विजयी भए ।
सत्ता, शक्ति र पहुँच भएका नेताहरूको निरन्तर प्रतिनिधित्व रहँदा पनि सुनसरी–४ का धेरै बस्ती आज पनि आधारभूत सुविधाको अभावसँग जुधिरहेका छन् । स्थानीयका अनुसार, हरेक निर्वाचनमा ठुला योजना र आश्वासन सहित आउने उम्मेदवार चुनाव सकिएपछि भने काठमाडौँ केन्द्रित राजनीति मै सीमित हुने गरेका छन् । यसले गर्दा पनि मतदाताले यस पटक कार्कीको विकल्प खोजेका हुन ।
कोसी गाउँपालिकाका एक स्थानीय भन्छन्– “नेताहरू प्रधानमन्त्री, मन्त्री बन्छन् । तर यहाँको बाटो, विद्यालय, अस्पताल उस्तै छ । चुनावमा मात्रै आउँछन्, भोट माग्छन् अनि हराउँछन् ।” प्रतिनिधिसभा मात्र होइन, प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवारले गरेका प्रतिबद्धता घोषणा–पत्रमै सीमित हुने गरेको गुनासो स्थानीयको छ । सडक सञ्जाल, सिँचाइ, रोजगारी, शिक्षा र स्वास्थ्य सेवा विस्तार जस्ता मुद्दा हरेक चुनावमा दोहोरिए पनि व्यवहारमा कार्यान्वयन कमजोर देखिन्छ । यस पटकको निर्वाचनमा पनि सुनसरी–४ का मतदाताले पुरानै भाषण र पुरानै वाचा दोहोरिएको महसुस गरेका थिए । ठुला दलका उम्मेदवार विकासको खाका बोकेर मैदानमा उत्रिए पनि स्थानीयको विश्वास जित्न नसकेकाले कार्की पराजित बनेका हुन ।
चुनावका बेला नेताहरूले ठुला ठुला आश्वासन दिने तर कार्यान्वयन नगर्ने परिपाटीले यहाँका जनता आजित बनेको स्थानीयको भनाई छ । स्थानीयको पीडा भने नेताको भाषणभन्दा निकै फरक छ । वर्षौँदेखि सप्तकोसी नदीको कटानले सयौँ परिवार विस्थापित भएका छन् । कोश टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जङ्गली हात्तीको आतङ्कले खेतीपाती नष्ट हुँदै आएको छ । तर, दीर्घकालीन समाधान कसैले गरेनन् । यसको लागि अहिलेसम्म कुनै नेताले प्रभावकारी काम हुन सकेको छैनन् ।
शिक्षा र स्वास्थ्य सेवा पनि सुनसरी–४ का लागि पुरानै दुखाइ बनेको छ । उच्च शिक्षाका लागि इटहरी, धरान र विराटनगर धाउनुपर्ने बाध्यता कायमै छ । सामान्य उपचारका लागि समेत ठुला सहरको सहारा लिनुपर्ने अवस्था हट्न सकेको छैन । स्थानीयका अनुसार, सुनसरी–४ लाई विकासमा पछि पार्ने मुख्य कारण राजनीतिक अस्थिरता होइन, ‘प्रतिनिधिको प्राथमिकता’ हो । “देश चलाउने नेता जन्माउने ठाउँ” भनेर चिनिने यो क्षेत्र सधैँ नेताका लागि सुरक्षित भोट बैङ्कमै सीमित भएको स्थानीयको ठम्याइले कार्कीको विकल्प खोजेका हुन ।
प्रतिनिधिसभा निर्वाचनमा सुनसरी ४ बाट पुरानै प्रतिष्पर्धीहरु नेपाली काङ्ग्रेसबाट कार्की र एमालेबाट जगदीश प्रसाद कुसियतले उम्मेदवारी दिएका थिए । नेपाली कम्युनिस्ट पार्टीका महफुज अन्सारी र जनता समाजवादी पार्टीबाट सबिता यादव चुनावी मैदानमा थिए ।
उनीहरू सबैलाई पाखा लगाउँदै रास्वपा बाट दीपक शाह फराकिलो मतान्तरले विजयी बनेका छन् ।