सुनसरी । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी ध्वस्त बनाइएको इटहरीस्थित इलाका प्रहरी कार्यालयको भवन पुनर्निर्माणपछि शुक्रवारदेखि वडा प्रहरी कार्यालयका रूपमा सञ्चालनमा आएको छ ।
विभिन्न दाता तथा स्थानीय सरोकारवालाको सहयोग र समन्वयमा भवन पुनर्निर्माण सम्पन्न भएपछि वडा प्रहरी कार्यालयको रुपमा शुक्रवारबाट नियमित सेवा सुरु गरिएको हो ।
कार्यालयमा हाल प्रहरी सहायक निरीक्षक (सई) को नेतृत्वमा नौ जना प्रहरी कर्मचारी खटिएको सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको आगजनीले तत्कालीन इलाका प्रहरी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो ।
त्यसयता प्रहरी सेवा अवरुद्ध नहोस् भनेर अस्थायी व्यवस्थामार्फत सेवा सञ्चालन हुँदै आएको थियो ।
ध्वस्त भएको भवन पुनर्निर्माणसँगै प्रहरीको स्थानीय उपस्थिति पुनः स्थापित भएको छ ।
यसले सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकलाई नजिकबाट प्रहरी सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।
यद्यपि, आन्दोलनका क्रममा विस्थापित भएको इलाका प्रहरी कार्यालय भने तत्काल पुरानै भवनमा फर्किएको छैन ।
उक्त कार्यालय हाल इटहरी रङ्गशाला परिसरमा विभिन्न दाताको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ ।
पुनर्निर्मित भवन वडा प्रहरी कार्यालयका रूपमा सञ्चालनमा आएपछि स्थानीय तहमा सुरक्षा सेवा थप प्रभावकारी हुने विश्वास गरिएको प्रहरी उपरीक्षक थेबेले जानकारी दिए ।










