विराटनगर । कोशी प्रदेश सरकारको मुख्यमन्त्री फेर्ने बिषयमा नेकपा एमाले भित्र विवाद भएपछि एमाले अध्यक्ष केपी ओलीसँग भएको वैठकबाट मुख्यमन्त्री हिक्मतकुमार कार्की निस्किएका छन् । अध्यक्ष ओलीको निवास गुण्डुमा भएको छलफलमा आफ्ना कुरा राखेर निस्किएको मुख्यमन्त्री कार्कीले बताए ।
उनले भने, मैले मेरो कुरा राखेर निस्किएको छु । समस्या समाधानको बिषयमा अध्यक्ष ज्यूले निकास दिनु हुनेछ । वैठकमा नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारी समेत सहभागि छन् । वैठकमा सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई समेत बस्ने भनिए पनि राई भने काठमाण्डौ गएका छैनन् ।
मुख्यमन्त्री कार्की बैठकबाट निस्के पनि अध्यक्ष खतिवडा र भण्डारी भने अझै पार्टी अध्यक्ष ओली निवास गुण्डुमै रहेका छन् । भेटघाटमै रहेका सचिव भण्डारीले छलफल जारी रहेको बताए । उनले भने, छलफल जारी रहेको छ ।
नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेशको सत्ता साझेदारी गर्ने विषयमा तीन बुँदे सहमति भएपछि कोशी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने सहमति जुटेको थियो ।
सहमति अनुसार एमालेले नै मुख्यमन्त्री पाए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको स्थानमा तिलकुमार मेन्यांवोलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएका थिए ।
पार्टी अध्यक्षले मुख्यमन्त्री फेर्ने भने पनि कार्कीले भने संस्थागत निर्णय भए मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिने अडान लिँदै आएका छन् ।
प्रदेश इन्चार्ज शेरधन राईसँगको बैठकमा कार्कीले संस्थागत निर्णय विना राजीनामा नदिने अडान लिएपछि मुख्यमन्त्री फेर्ने विषयमा एमाले कोशी संसदीय दल विभाजित भएको छ ।
संसदीय दल विभाजित भएपछि समस्याको निकास निकाल्न पार्टी अध्यक्षसँग नै प्रदेशका पदाधिकारी र मुख्यमन्त्रीको बैठक बसेर निकास निकाल्ने सहमति भएको थियो ।
सहमति अनुसार काठमाण्र्डौ पुगेका मुख्यमन्त्री र प्रदेशका अध्यक्ष र सचिवले हिजो अध्यक्ष ओलीसँग छुट्टा छुट्टै भेटघाट गरेका थिए । अध्यक्षसँगको हिजो भएको भेटमा मुख्यमन्त्री कार्कीले राजीनामा नदिने अडान लिएका थिए । राजीनामा नदिने अडान लिएपछि आज पुन भेटघाट भएको थियो ।
कोशीमा संविधानको धारा १६८९५० अन्तरगत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । संविधान अनुसार संसदीय दलको नेता फेर्दैमा कार्कीको पद नजाने भएपछि मुख्यमन्त्री फेर्ने विषयमा एमाले भित्र संवैधानिक सङ्कट उत्पन्न भएको छ ।










