सुनसरी । तराईमा चर्को गर्मी बढेसँगै मानिसहरू गर्मी छल्दै चियोको आनन्द लिन पर्यटकीय गन्तव्य भेडेटार पुग्ने गर्छन् । पछिल्लो समय चिसो मौसम, प्राकृतिक सौन्दर्ययतामा रमाउने मात्रै होइन, साहसिक पर्यटनको अनुभव लिन पनि मानिसहरू भेडेटार पुग्ने गरेका छन् ।

अग्लो डाँडामा स्काई वाक गर्दै टाढाको क्षितिज नियाल्दै पर्यटकहरू आनन्दित महसुस गर्छन् । आकाश खुलेको समयमा हरिया पहाडका डाँडा देखी तराईका फाँट सम्म हेर्न सकिन्छ । परको क्षितिजमा फैलिएको सप्तकोशी नदी देख्न सकिन्छ ।

भेडेटार पुगेका आन्तरिक तथा बाह्य पर्यटक एक पटक स्काई वाक गर्छ्रन् । साहसिक पर्यटनको नयाँ अनुभवले पर्यटकलाई थप रोमाञ्चित बनाएको छ भने भेडेटारको आर्थिक गतिविधिलाई पनि बढाई दिएको छ ।

वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड एट्राक्सन प्रालिले प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य गर्दै स्काई वाक निर्माण गरेको हो । यो स्काई वाक पहिलेको चाल्स पोइन्ट भएको ठाउँमा निर्माण गरिएको छ ।
कम्पनीले स्काई वाक भ्रमणको शुल्क प्रतिव्यक्ति ५ सय रुपैयाँ तोकेको छ। पछिल्लो दुई वर्षमा तीन लाख बढी पर्यटकले स्काई वाकको अवलोकन गरेको कम्पनीले जनाएको छ । स्काई वाकले भेडेटारको पर्यटन बजार विस्तार हुँदै गएको स्थानीय व्यवसायीहरूले बताएका छन् ।














