विराटनगर। प्रदेश स्वास्थ्य सेवामा कार्यरत वरिष्ठ कविराज निरीक्षक खगेन्द्र पौड्याल तीन वर्षको छोटो अवधि मै पाँच पटक सरुवामा परेका छन्। नेपाल स्वास्थ्य सेवा, आयुर्वेद समूहका सातौँ तहका अधिकृत पौड्याललाई किन छिटो छिटो सरुवा गरिएको भन्ने विषय अहिले स्वास्थ्य सेवाको क्षेत्रमा चर्चा भइरहेको छ।  पौडेलकै सहकर्मीहरू माथिल्लो निकायसँगको सेटिङमा सुविधा प्राप्त गर्ने जिल्लामा छानेर जाने गरेको र दुर्गम नै नजाने मानसिकताका कारण वरिपरि घुमेर बसेको आरोप लगाउँछन्। 
कविराज निरीक्षक पौडेल वि.सं. २०८० भदौदेखि २०८३ भदौसम्मको अवधिमा पाँच फरक–फरक निकायमा सरुवा तथा काजमा खटाइएका व्यक्ति हुन्।  प्राप्त आधिकारिक विवरण अनुसार, पौडेलको सरुवाको सिलसिला वि.सं. २०८० भदौ ७ गते स्वास्थ्य निर्देशनालय, धनकुटाबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सुनसरी सरुवा भएसँगै सुरु भएको थियो। सोही वर्ष २०८० भित्रै उनलाई सुनसरीबाट तेह्रथुम पठाइयो। तेह्रथुममा केही समय सेवा गरेपछि वि.सं. २०८१ मा प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुर (झापा) मा उनको सरुवा भयो। झापामा कार्यरत रहँदा मन्त्रालयको वि.सं. २०८२ मङ्सिर १७ गतेको सचिव स्तरीय निर्णयले उनलाई चौथो पटक पुनः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सुनसरीमा सरुवा ग¥यो। सुनसरीमा एक वर्ष पनि नपुग्दै वि.सं. २०८३ भदौ २९ गते पौडेललाई पाँचौँ पटक पुनः धनकुटा सरुवा गरिएको छ।  उनको सरुवालाई लिएर अहिले चौतर्फी आलोचना भइरहेको छ। 
सरुवामा चलखेल कि बाध्यता?
निजामती तथा प्रदेश निजामती सेवाको सामान्य मान्यता अनुसार एक कर्मचारीलाई कुनै निश्चित कार्यालयमा कम्तीमा दुई वर्षसम्म रहने व्यवस्था गरिन्छ, ताकि प्रशासनिक स्थिरता र सेवा प्रवाहमा निरन्तरता कायम रहोस्। तर, पौड्याललाई हरेक ६–६ महिनाको अन्तरालमा बिरालोले बच्चा सारेझैँ एक ठाउँबाट अर्को ठाउँमा खटाइएको छ।   यस विषयमा कुराकानी गर्दा पौड्यालले आफूलाई कतिपय स्थानमा राजनीतिक तथा प्रशासनिक दबाब र ’पेलान’का कारण पठाउने गरिएको सङ्केत गरेका छन्। 
सुरुमा निर्देशनालयबाट सुनसरी पठाउँदा साथीहरूले पेलान गरेर फालेको र पछि सचिव स्तरीय अनुरोध तथा अन्य साथीहरूलाई सुगम ठाउँमा मिलाइदिन सहजीकरण गर्दा छिटो छिटो सरुवा गर्नु परेको उनको भनाइ छ। कतिपय वैद्य तथा कविराजहरू वर्षौँसम्म मोरङ, भोजपुर लगायतका जिल्लाहरूमा बस्नु परे पनि उनी मन्त्री तथा पहुँचवालाको रुचि विश्वास पात्र भएकै कारण तोकेको र छानिएको ठाउँमा जिम्मेवारी पाउँदै आएका अनुभवी कर्मचारीलाई छिटो–छिटो सरुवा गर्दा उनको कार्यसम्पादन, मनोबल र व्यक्तिगत जीवनमा असर पर्नुका साथै सर्वसाधारणले पाउने आयुर्वेद स्वास्थ्य सेवा प्रवाह र प्रशासनिक निरन्तरतामा समेत गम्भीर प्रतिकूल प्रभाव परेको छ।
निरन्तर विभेद
प्रदेश स्वास्थ्य सेवाअन्तर्गत समायोजन भई आएका आयुर्वेद स्वास्थ्यकर्मीहरूको सरुवा र पदस्थापनलाई आधार मान्ने हो भनेँ कोही सुगममै मात्र रमाउने र कोही निरन्तर दुर्गममा बिताउनु परेको तथ्यले देखाएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको अपारदर्शी सरुवा नीतिका कारण पहुँच र प्रभाव भएका केही कर्मचारीहरू निरन्तर सुगम तथा तराईका जिल्लाहरूमा मात्रै घुमिरहने र कतिपय कर्मचारी भने वर्षौँदेखि दुर्गम पहाडी जिल्लाहरूमै सीमित हुनुपरेको पाइएको छ। 
सुगम र तराईमै सीमित हुनेहरू कर्मचारी समायोजन भएर प्रदेशमा आएदेखि झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटाजस्ता सुगम तथा पायक पर्ने स्थानमा मात्र सरुवा र कामकाज गर्दै आएका स्वास्थ्यकर्मीहरूको सूची लामो छ। यस्ता कर्मचारीहरूमा हरेन्द्र साह (झापा, धनकुटा र पुनः झापा) खगेन्द्र पौड्याल (लखनपुर (झापा), सुनसरी, धनकुटा, तेह्रथुम र पुनः सुनसरी हुँदै धनकुटा),  रविन्द्र मेहता ( मोरङ, पाँचथर, मोरङ, धनकुटा र पुनः मोरङ) मुकेश कुमार सिंह ( मोरङ, सुनसरी, उदयपुर र धनकुटा) राधाकृष्ण राय (उदयपुर, सुनसरी र पुनः उदयपुर) नै सरुवा गराइएको छ। टेकनाथ अर्याल पाँचथर, झापा (चन्द्रगढी) लखनपुर र पुनः झापा) तीर्था बस्नेत र रमा दाहाल मोरङ (एकै स्थानमा निरन्तर) कार्यरत रहेका छन्। 
पहाड र दुर्गममै थन्क्याइएकाहरू समायोजन भएदेखि नै लगातार हिमाली तथा दुर्गम पहाडी जिल्लाहरूमा मात्रै खटाइएका छन्। यी कर्मचारीहरूमा विजय कुमार झा (सोलुखुम्बु, धनकुटा, पाँचथर, धनकुटा र भोजपुर) अजय कुमार झा (खोटाङ, सोलुखुम्बु, भोजपुर र ताप्लेजुङ), अमरिन्द्र पण्डित (तेह्रथुम, सोलुखुम्बु र पाँचथर), सुनिल साह (तेह्रथुम र सोलुखुम्बु) मनोज पण्डित भोजपुर (निरन्तर) लामो समयदेखि कार्यरत रहेका छन्। आशिष झा (ओखलढुङ्गा र इलाम) अनिल मण्डल (भोजपुर, धनकुटा र तेह्रथुम) र रिता खत्री(पाँचथर र इलाम) मा नै राखिएका छन् । उनीहरूले नियमित सरुवाको लागि निवेदन हालेपनि सरुवा नभएको ती कर्मचारीहरूले बताएका छन्।
सङ्घीय तथा प्रदेश निजामती सेवाको मर्म अनुसार निश्चित अवधि पूरा भएपछि सुगमबाट दुर्गम र दुर्गमबाट सुगममा चक्रीय प्रणाली अनुसार सरुवा हुनुपर्ने व्यवस्था छ। तर, पहुँचका आधारमा कोही सधैँ तराई तथा सुगम जिल्लामै बसिरहने र कोही निरन्तर पहाडमै रहनुपर्ने बाध्यताले स्वास्थ्यकर्मीहरूको मनोबल गिराएको छ। यस्तो असमान सरुवा प्रणालीका कारण दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह प्रभावित हुनुका साथै प्रशासनिक सुशासन माथि नै गम्भीर प्रश्न  उब्जिएको छ।