सुनसरी । आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोसी प्रदेशबाट सहभागी हुने खेलाडी छनोट प्रक्रिया सुरु गर्न प्रदेश खेलकुद विकास बोर्डले तयारी थालेको छ। बोर्डले जिल्ला तथा प्रदेशस्तरमा हुने छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीको विवरण संकलन गरी छनोट प्रक्रिया अघि बढाउन जिल्ला खेलकुद विकास समितिलाई निर्देशन दिएको छ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले प्रदेशका १४ वटै जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै जिल्ला र प्रदेशस्तरीय छनोटमा सहभागी हुने खेलाडीको दर्ता फाराम भराउन आग्रह गरेका छन्।
बोर्डले आगामी राष्ट्रिय प्रतियोगिताका लागि कोसी प्रदेशबाट सहभागी हुने सम्भावित खेलाडीको छनोट प्रक्रिया जिल्ला तथा प्रदेशस्तरमा सञ्चालन भइरहेको जनाएको छ। त्यसका लागि जिल्ला तहमा हुने छनोट प्रतियोगिता तथा प्रदेशस्तरीय छनोटमा सहभागी हुने सम्पूर्ण खेलाडीले आवश्यक कागजात र विवरणसहित खेलाडी दर्ता फाराम भर्नुपर्नेछ।
बोर्डले खेलाडी दर्ताका लागि आवश्यक दुई थान फाराम जिल्ला खेलकुद विकास समितिलाई पठाउँदै २०८३ असोज १९ गतेभित्र फाराम भरी जिल्ला छनोट प्रतियोगिताको आन्तरिक तयारीमा समावेश गर्न अनुरोध गरेको छ।
यससँगै कोसी प्रदेशले दशौं राष्ट्रिय खेलकुदका लागि खेलाडी पहिचान, दर्ता र छनोट प्रक्रियालाई औपचारिक रूपमा अघि बढाएको हो। जिल्ला हुँदै प्रदेशस्तरीय छनोटबाट राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी तय गरिने बोर्डले जनाएको छ।
बोर्डको पत्रअनुसार कोसी प्रदेशमा १४ वटै जिल्लामार्फत खेलाडी छनोटको प्रक्रिया अघि बढाइनेछ।











