सुनसरी । सुनसरीको सेउती खोला आसपासको एउटा खुला क्षेत्रमा ढुंगाका ठूलठूला थुप्रा छन् । खेतबारीजस्तो देखिने जमिनमा कतै गोलिया ढुंगा, कतै गिट्टी र कतै बालुवा थुपारिएको छ । ती थुप्रासम्म पुग्ने कच्ची बाटोमा ट्याक्टरका पांग्राका डोब देखिन्छन् ।

स्थानीयका अनुसार दिनमा देखिने यी ढुंगा–गिट्टीका थुप्रा रातको समयमा सेउती खोलाबाट निकालिएको नदीजन्य पदार्थको परिणाम हुन् । राति भने यही क्षेत्रमा नदीजन्य पदार्थ बोकेका ट्याक्टरको चहलपहल बढ्छ ।

IMG_9368

इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाको सीमाक्षेत्र हुँदै बग्ने सेउती खोलाको रामधुनी–७ आसपासबाट रातको समयमा ढुंगा, गिट्टी र बालुवा निकालेर विभिन्न स्थानमा भण्डारण गर्ने गरिएको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार खोलाबाट निकालिएको नदीजन्य पदार्थ रामधुनी–७ र इटहरी–१९ का विभिन्न स्थानमा थुपारिन्छ र केही दिनपछि त्यहाँबाट बिक्री गरिन्छ ।

‘दिनमा हेर्दा केही हुँदैन, रात परेपछि खोलामा ट्याक्टरको चहलपहल बढ्छ,’ एक स्थानीयले भने, ‘खोलाबाट निकालिएको ढुंगा, गिट्टी र बालुवा बस्ती आसपासका विभिन्न स्थानमा थुपारिन्छ । केही दिनपछि त्यहीँबाट बिक्री गरिन्छ ।’ स्थानीयका अनुसार रातको समयमा दर्जनौं ट्याक्टर खोला क्षेत्रमा पुग्ने गरेका छन् ।

ट्याक्टरले खोला र आसपासबाट नदीजन्य पदार्थ उठाएर भण्डारणस्थलसम्म पुर्‍याउने गरेको उनीहरूको भनाइ छ । दिनमा सुनसान देखिने कतिपय भण्डारणस्थलमा राति भने मानिसको चहलपहल बढ्ने गरेको स्थानीय बताउँछन् ।

नदीजन्य पदार्थ भण्डारण गरिएका कतिपय स्थानमा राति ठूलो संख्यामा युवाहरू जम्मा हुने गरेको भन्दै स्थानीयले सुरक्षाको विषयसमेत उठाएका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले ओसारपसारमा संलग्न कतिपय व्यक्तिले लागुऔषध सेवन गर्ने गरेको आरोप लगाए ।

उनका अनुसार लागुऔषध सेवन गरेर ट्याक्टर चलाउने तथा रातको समयमा जथाभावी सवारी चलाउने गर्दा स्थानीय बासिन्दा जोखिममा पर्ने गरेका छन् ।

‘राति ट्याक्टर तीव्र गतिमा चल्छन् । कहिलेकाहीँ चालकको व्यवहारसमेत असामान्य देखिन्छ,’ उनले भने, ‘यसले स्थानीयलाई दुर्घटनाको डर पनि छ ।’

उजुरीपछि पनि रोकिएन उत्खनन

सेउती दोहनबारे स्थानीयले जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायमा जानकारी गराएको बताएका छन् ।

तर उजुरी र गुनासोपछि पनि रातको समयमा हुने उत्खनन र ओसारपसार नरोकिएको उनीहरूको भनाइ छ । स्थानीयका अनुसार सेउती दोहन लामो समयदेखि विभिन्न समूहबाट हुँदै आएको छ ।

seuti dohan

उत्खनन नियन्त्रण तथा अनुगमन गर्ने जिम्मेवारीमा रहेका निकायबीच प्रभावकारी समन्वय नहुँदा खोलाबाट नदीजन्य पदार्थ निकाल्ने क्रम नरोकिएको उनीहरूको आरोप छ ।

खोला दोहनमा रामधुनी–७ स्थित पञ्चायन प्रहरी चौकी, इलाका प्रहरी कार्यालय पकली तथा तरहरा सब–डिभिजन वन कार्यालयका केही कर्मचारीको समेत मिलेमतो रहेको स्थानीयले आरोप लगाएका छन् ।

उत्खनन तथा ओसारपसारमा संलग्न व्यक्तिबाट नियमित रूपमा रकम उठाउने गरिएको दाबीसमेत उनीहरूले गरेका छन् ।

तर रकम कसले, कति र कुन माध्यमबाट उठाउने गरेको हो भन्नेबारे उनीहरूले प्रमाण सार्वजनिक गरेका छैनन् ।

‘नगर प्रहरी पठाउँदा पनि रोक्न सकेनौं’

रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले सेउती दोहन रोक्न नगरपालिकाले पटक–पटक अनुगमन तथा नगर प्रहरी परिचालन गरे पनि पूर्ण रूपमा नियन्त्रण गर्न नसकिएको बताइन् । उनका अनुसार नगरपालिकाले केही ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीसमेत गरेको छ ।

‘हामीले पटक–पटक अनुगमन गरेका छौं, नगर प्रहरी परिचालन गरेका छौं ।

केही ट्याक्टर नियन्त्रणमा लिएर कारबाही पनि गरेका छौं,’ थापाले भनिन्, ‘तर प्रहरी प्रशासन र वन कार्यालयबाट प्रभावकारी सहयोग नहुँदा खोला दोहन रोक्न समस्या भएको छ ।’ उनले खोला दोहन नियन्त्रणमा स्थानीय प्रहरी प्रशासन र तरहरा सब–डिभिजन वन कार्यालयले प्रभावकारी काम गर्नुपर्ने बताइन् ।

‘नियन्त्रणका लागि पहल गरिरहेका छौं’

इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक सञ्जीव ओलीले सेउती दोहनबारे आफूहरूलाई पनि गुनासो आएको र नियन्त्रणका लागि पहल भइरहेको बताए ।

‘गुनासो हामीलाई पनि आएको थियो । मैले सीडीओसापसँग पनि कुरा पुर्‍याएर नियन्त्रणका लागि समन्वयात्मक पहल गर्न आग्रह गरेको थिएँ,’ ओलीले भने, ‘यसमा स्थानीय तह नै बढी जिम्मेवार भएर लाग्नुपर्छ ।’

स्थानीय प्रहरी चौकीकै मिलेमतोमा दोहन भइरहेको आरोपबारे सोध्दा उनले त्यसबारे बुझ्ने बताए । ‘के रहेछ, म बुझ्छु,’ उनले भने ।

‘हाम्रा कर्मचारीलाई ट्याक्टरले पेलेर झन्डै मारे’

डिभिजन वन कार्यालय सुनसरीका निमित्त डिभिजनल वन अधिकृत रितेष भुषण बस्नेतले सेउती क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्वीकार गरे ।

उनका अनुसार दोहन नियन्त्रणका लागि तरहरा तथा धरान सब–डिभिजन वन कार्यालयबाट अनुगमन र नियन्त्रणको प्रयास भइरहेको छ ।

‘उत्खनन भइरहेको गुनासो आएपछि हामीले अनुगमनका लागि कर्मचारी पठाएका थियौं,’ बस्नेतले भने, ‘तर हाम्रा कर्मचारी सवार मोटरसाइकललाई नै तस्करीमा संलग्नहरूले ट्याक्टरले पेलेर झन्डै मारे ।’

dohan

उनका अनुसार तरहरा सब–डिभिजन वन कार्यालयका प्रमुख बिन्देश्वर शाहलाई केही दिनअघि डिभिजन वन कार्यालय इनरुवा सरुवा गरिएको छ ।

उनको स्थानमा अर्को कर्मचारी पठाइएको उनले जानकारी दिए ।

शाहको सरुवा भने नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत भएको बस्नेतको दाबी छ ।

वन क्षेत्रमा उत्खननको कानुनी प्रश्न

सेउतीमा उत्खनन भइरहेको भनिएको क्षेत्र वन क्षेत्रभित्र पर्ने भएकाले नदीजन्य पदार्थ निकाल्ने कार्यको कानुनी आधारमाथि समेत प्रश्न उठेको छ ।

ढुंगा, गिट्टी तथा बालुवाको उत्खनन, बिक्री र व्यवस्थापनका लागि सरकारले मापदण्ड तोकेको छ ।

नदीजन्य पदार्थ उत्खननका लागि स्रोत, क्षेत्र, परिमाण, समयावधि र उत्खनन विधिसहितका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

वन क्षेत्रभित्र प्राकृतिक स्रोतको उत्खनन वा संकलन गर्दा वनसम्बन्धी कानुनी प्रावधानसमेत आकर्षित हुन्छन् ।

तर सेउती दोहन रोक्ने विषयमा स्थानीय तह, प्रहरी र वन कार्यालयबीचको जिम्मेवारीसमेत स्पष्ट देखिएको छैन ।

नगरपालिकाले प्रहरी र वन कार्यालयबाट प्रभावकारी सहयोग नपाएको बताएको छ भने प्रहरीले स्थानीय तहलाई बढी जिम्मेवार भएर लाग्नुपर्ने बताएको छ ।

वन कार्यालयले भने आफ्ना कर्मचारीसमेत जोखिम मोलेर अनुगमनमा खटिएको जनाएको छ ।

स्थानीयले प्रहरी तथा वन कर्मचारीमाथि लगाएको आर्थिक लेनदेनसम्बन्धी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

तर वन क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्वीकारोक्ति, नगरपालिकाले नियन्त्रणका लागि ट्याक्टर समातेको विवरण र रातको समयमा उत्खनन भइरहेको स्थानीयको दाबीले सेउतीमा भइरहेको दोहनको नियमन र नियन्त्रण प्रभावकारी छ कि छैन भन्ने प्रश्न भने उठाएको छ ।