मोरङ — आयोजक पथरी–११ एफसीलाई पेनाल्टी सुटआउटमा ८–७ ले पराजित गर्दै भारतको यूकेएफसी खर्साङ तेस्रो पथरीशनिश्चरे अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पथरीशनिश्चरे–१ स्थित प्रस्तावित रंगशालामा शनिबार भएको उद्घाटन खेल निर्धारित ७० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
दुवै टोलीले निर्धारित समयमा गोलका अवसर सिर्जना गरे पनि फिनिसिङमा चुकेका थिए । पेनाल्टीको सुरुवाती पाँच–पाँच प्रहारमा दुवै टोलीले ४–४ गोल गरेपछि खेल सडन डेथमा पुगेको थियो ।
सडन डेथमा आयोजक पथरी–११ का खेलाडीले निर्णायक प्रहारमा गोल गर्न नसकेपछि यूकेएफसी खर्साङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
यूकेएफसीका गोलरक्षक सचिनले खेलमा उत्कृष्ट प्रदर्शन गरे । निर्धारित समयमा पथरी–११ का आक्रमण रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले पेनाल्टी सुटआउटमा पनि टोलीलाई जिततर्फ डोर्याए ।
उनलाई खेलको ‘म्यान अफ द म्याच’ घोषित गरिएको आयोजकले जनाएको छ । घरेलु मैदानमा आयोजक टोली पराजित भए पनि खेलमा दर्शकको उल्लेख्य उपस्थिति थियो । प्रतियोगितामा स्थानीयसँगै भारतको टोलीको सहभागिता रहेको छ ।
आयोजक पथरी–११ एफसीका अध्यक्ष सुमन बिकका अनुसार प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगिताअन्तर्गत आइतबार सहलेस युवा क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।











