इटहरी । प्रसूति व्यथाले च्यापेर जिल्ला अस्पताल सुनसरी लगिएकी बिरामीको भर्ना लिन अस्पतालले अस्वीकार गरेको छ ।
सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदालाई प्रसव पीडा भएपछि जिल्ला अस्पताल इनरुवा लगिए पनि अस्पतालले भर्ना लिन नमानेको परिवारको आरोप छ।
कागजात नमिलेको र आवश्यक कागजात नपुगेको भन्दै उपचार प्रक्रिया अघि नबढाइएको उनीहरूको गुनासो छ।
प्रसव पीडाले छटपटाइरहेकी सदालाई अस्पतालले आवश्यक जाँच तथा उपचार नगरी ‘हाइरिस्क’ केस भन्दै अन्यत्र पठाउन खोजेको परिवारको दाबी छ।
त्यसपछि सहयोगीको पहलमा उनलाई विराटनगरतर्फ लैजाने क्रममा कोशी अस्पताल बाहिर एम्बुलेन्सभित्रै सामान्य प्रसूति भएको छ। घटना २१ गते रातीको हो ।
जिल्ला अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालनमा छ र आकस्मिक सेवाका लागि १५ शय्या उपलब्ध छन्। अस्पतालले गर्भवती तथा सुत्केरी जाँचसमेत आफ्नो नागरिक बडापत्रमा समावेश गरेको छ।
त्यसै गरी सरकारी विवरणमा जिल्ला अस्पताल सुनसरीमा मातृ तथा नवशिशु कार्यक्रमअन्तर्गत प्रसूति सेवा, आमा सुरक्षा तथा गर्भवतीसम्बन्धी सेवा सञ्चालन हुने उल्लेख छ।
अस्पतालले भर्ना नलिएको भिडियो समेत अहिले सार्वजनिक भएको छ ।
अस्पतालका मेसु डा।सन्तोष प्रसाद साहले बच्चाको धड्कन ई रेगुलर भएको र आमाको हेमोग्लोबिन पनि कमी भएकाले सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको बताए ।
उनले भने बच्चाको धड्कन इ रेगुलर थियो आमाको हेमोग्लोबिन पनि कमी भएकाले एन आइसियु सुविधा भएको अस्पतालमा रेफर गरिएको बताए ।
अहिले बच्चा र आमा दुवैको अवस्था सामान्य छ । उनीहरूलाई घरै लगिएको छ ।










