सुनसरी — दसैं, तिहारलगायत चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन कोशी प्रदेशमा ८ हजार १३३ जना प्रहरी परिचालन गरिने भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्व सुरक्षा कार्ययोजना २०८३ लागू गर्दै प्रदेशका १४ वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको हो।

चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि, सवारी दुर्घटना, चोरी–तस्करी तथा अन्य अप्रिय घटना नियन्त्रण गर्न सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले बताए।

‘नागरिकलाई हर्षोल्लास, आपसी सद्भाव र भयरहित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो,’ उनले भने।

चाडपर्वमा यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राखेर प्रदेशका १४ वटै जिल्लाका बसपार्क, बसस्ट्यान्ड तथा मुख्य र सहायक राजमार्गका ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्राका क्रममा आइपर्ने समस्या समाधान, गुनासो सुनुवाइ तथा ठगीबाट यात्रुलाई जोगाउन सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।

सीमानाकाबाट पटाका तथा अन्य विस्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका र शंकास्पद क्षेत्रमा तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरिएको छ।

बढी भीडभाड हुने चोक, बजार तथा संवेदनशील क्षेत्रमा सीसीटीभीबाट निगरानी बढाइएको छ। आवश्यकताअनुसार ड्रोन क्यामेरासमेत प्रयोग गरिने प्रहरीले जनाएको छ।

सुरक्षा योजनाअन्तर्गत तत्काल प्रहरी परिचालन तथा उद्धारका लागि ४ सय ५३ जना क्विक रेस्पोन्स टिम (क्युआरटी) परिचालन गरिएको छ।

सुरक्षा संवेदनशील र जोखिमयुक्त क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न १५ वटा स्ट्राइकिङ टोली खटाइएको छ।

सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण गर्न १ सय ७९ स्थानमा ट्राफिकसहित संयुक्त चेकजाँचको व्यवस्था मिलाइएको छ।

सीमा क्षेत्रमा चोरी–तस्करी र सीमावर्ती अपराध नियन्त्रण गर्न ८३ स्थानमा चेकजाँच तथा निगरानी गरिनेछ।

त्यस्तै, मोबाइल गस्तीका लागि ९८, राजमार्ग स्कर्टिङका लागि २२, पैदल गस्तीका लागि २ सय १५ र पिकेट ड्युटीका लागि ५ सय ३ प्रहरी टोली परिचालन गरिएको छ।

धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ५० स्थानमा र महत्त्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि ३४ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।