सुनसरी — प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको घटनाको छानबिन गर्न कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ।

घटनामा विवादमा तानिएका जिल्ला अस्पताल इनरुवा सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्तोषप्रसाद साहलाई पनि अस्पताल प्रमुखको जिम्मेवारीबाट हटाइएको छ।

गत असोज २१ गते राति प्रसूति व्यथाले च्यापेपछि सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदालाई परिवारले जिल्ला अस्पताल इनरुवा पुर्‍याएका थिए।

तर, अस्पतालले आवश्यक कागजात नपुगेको र अवस्था उच्च जोखिमको रहेको भन्दै भर्ना लिन नमानेको परिवारको आरोप छ।

आवश्यक स्वास्थ्य परीक्षण र प्राथमिक उपचारसमेत नगरेको पीडित पक्षको भनाइ छ।

अस्पतालले भर्ना नलिएपछि थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लैजाने क्रममा अस्पताल परिसरबाहिर पुग्दा उनले एम्बुलेन्समै शिशुलाई जन्म दिएकी थिइन्।

घटनाको सत्यतथ्य पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले प्रशासन महाशाखा प्रमुख (उपसचिव) को संयोजकत्वमा विषयविज्ञसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

छानबिनलाई प्रभावित हुन नदिन निष्कर्ष नआएसम्मका लागि निमित्त मेसुलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा. सभ्यता पन्थीले बताइन्।

छानबिनका क्रममा अस्पतालका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीको संलग्नता प्रचलित कानुनविपरीत देखिए कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।