विराटनगर । प्रसव पीडामा रहेकी महिलालाई भर्ना नलिएको घटनामा विवादमा तानिएका जिल्ला अस्पताल इनरुवा, सुनसरीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोषप्रसाद साहलाई अस्पताल प्रमुखको जिम्मेवारीबाट हटाइएको छ। असोज २१ गते सुत्केरी व्यथाले च्यापेर जिल्ला अस्पताल इनरुवामा ल्याइएकी कोशी गाउँपालिकाकी लालू सदालाई अस्पतालले भर्ना नलिएको घटना सार्वजनिक भएको थियो । कागजात नपुगेको भन्दै भर्ना लिन नमानेको विषयलाई लिएर साहालार्य अस्पताल प्रमुखको जिम्मेवारीबाट हटाएको कोशी प्रदेश सरकारले जनाएको छ । घटनाको छानबिन गर्न कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ। घटनाको सत्य तथ्य पत्ता लगाउन मन्त्रालयले प्रशासन महाशाखा प्रमुख (उपसचिव) को संयोजकत्वमा विषय विज्ञसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको मन्त्रालयको जनाएको छ ।
छानबिन निष्पक्ष बनाउन र प्रक्रियालाई प्रभावित हुन नदिन निष्कर्ष नआएसम्मका लागि निमित्त मेसु साहलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक डा। सभ्यता पन्थीले बताइन्। छानबिनका क्रममा अस्पताल प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीको संलग्नता प्रचलित कानुनविपरीत देखिए कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।











