सुनसरी । बाढीको जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी पूर्वतयारी, पूर्वकार्य तथा प्रतिकार्यसम्बन्धी एकीकृत कृत्रिम घटना अभ्यास (SIMEX) आजदेखि सुरु भएको छ।
२० गतेसम्म सञ्चालन हुने अभ्यासमा सुनसरी र झापाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन्।
अभ्यास बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा गरिने आयोजकले जनाएको छ।
बाढीको उच्च जोखिममा रहेको टप्पु क्षेत्रमा सम्भावित विपद्को अवस्थालाई कृत्रिम रूपमा सिर्जना गरी उद्धार, सुरक्षित स्थानान्तरण, राहत तथा प्रतिकार्यका गतिविधिको अभ्यास गरिनेछ।
अभ्यासका क्रममा बाढी आउनुअघि अपनाउनुपर्ने पूर्वसावधानी, जोखिममा रहेका समुदायलाई समयमै सूचना प्रवाह, खोज तथा उद्धार, प्रभावितको सुरक्षित स्थानान्तरण र विपद्पछिको मानवीय सहायता व्यवस्थापनलगायतका विषयमा व्यावहारिक अभ्यास गरिने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाल सरकारसँगै आयरल्यान्ड सरकार, विश्व खाद्य कार्यक्रम (WFP) र निड्स नेपाल (NEEDS Nepal) को सहकार्य रहेको छ।
सुनसरी र झापाका स्थानीय तह तथा विपद् व्यवस्थापनमा संलग्न सरोकारवालाहरूको सहभागितामा सञ्चालन हुने यस अभ्यासले अन्तरपालिका समन्वय, विपद् व्यवस्थापनको तयारी र प्रतिकार्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।











