विराटनगर । अधिवेशनको मिति नतोकिँदै नेपाली काँग्रेस कोशीको नेतृत्व लिन चाहानेहरुको लर्को लागेको छ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयन भए पनि जिल्ला र प्रदेश अधिवेशन सम्पन्न भएको छैन । प्रदेश र जिल्लाको अधिवेशनका लागि मिति नतोकिए पनि नेतृत्व लिन चाहानेहरुको भने लर्को लागेको छ । कुनै बेला शेरबहादुर देउवा र डा शेखर कोइलाका निकट भएर काम गरेकाहरू पनि क्याम्प चेन्ज गर्दै विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको काँग्रेसको नेतृत्व गर्न लागेका छन् । 

कोशी  प्रदेश सभापतिका लागि वर्तमान सभापति उद्धव थापादेखि प्रदेश उपसभापति रमेशजंग रायमाझी, मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बू, प्रदेश सांसद मानबहादुर लिम्बू, प्रदेश महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो र धनकुटा काँग्रेसका सभापति दिनेश राईले इच्छा व्यक्त गरेका छन् । उनीहरूले सभापतिका लागि लविंग सुरु गरेका छन् ।

कोशी प्रदेशको महामन्त्रीका लागि पनि प्रदेशका वर्तमान सहमहामन्त्री विनोद बस्नेत, कोशी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य शमशेर राई , मोरङका नेता मदन सङ्ग्रौला, वर्तमान कोषाध्यक्ष राजेश गुप्ता लगायतले आकाङ्क्षा राखेका छन् ।

अहिलेसम्म सबै आकाङ्क्षीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् । कतिपयले आफ्नो दाबी सार्वजनिक गरिसकेका छन् भने केही नेताको नाम पार्टीभित्रको छलफलमा आएको छ । 

वर्तमान सभापति थापाले आफू दोहोरिने वा नदोहोरिनेबारे सार्वजनिक रूपमा धारणा राखेका छैनन् । तर उनका निकटस्थहरू भने उनी अर्को कार्यकाल पनि नेतृत्वमा रहन इच्छुक रहेको बताउँछन् । उनी यस अघि कृष्ण सिटौला निकट थिए । उनैका कारण देउवा क्याम्पमा पुगेका थापा पार्टी सभापति र संसदीय दल कोशीका दलका नेताका रूपमा निर्वाचित भएका थिए । 

प्रदेश सभापतिका आकाङ्क्षीमध्ये उपसभापति रायमाझीले आफ्नो दाबीलाई स्वाभाविक  भएको बताएका छन् । उनी पनि देउवा निकट नेताका रूपमा चिनिन्थे । उनी राष्ट्रिय सभाका सचेतक समेत भए । महामन्त्री उमेश थापाले औपचारिक रूपमा सभापतिको रूपमा उम्मेदवारी घोषणा गरेका छन् । उनी डा शेखर कोइराला निकट थिए । प्रदेशको पहिलो अधिवेशनमा भएको निर्वाचनमा उनी कोइराला क्याम्पबाट उम्मेदवार भएका थिए । 

मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बूले पनि प्रदेश सभापतिका लागि आफ्नो उम्मेदवारी अघि सारेका छन् । मोरङमा दुई कार्यकाल जिल्ला सभापति भइसकेका र सङ्घीय सांसद र मन्त्रीसमेत भइसकेका लिम्बूले अब प्रदेश तहमा काम गर्ने आफ्नो प्राथमिकता रहेको बताएका छन् । उनले ६ महिना अगाडि नै पत्रकार सम्मेलन गरेर प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । उनी पनि डा शेखर कोइराला निकट नेताका रूपमा चिनिन्थे । उनले  जिल्ला सभापतिका रूपमा थप कार्यकालका लागि बाटो नरहेपछि प्रदेश नेतृत्व आफ्नो स्वाभाविक कार्यक्षेत्र भएको बताए । उनले भने,  ‘अब जिल्ला सभापति बन्न नपाउने अवस्था भएपछि मेरो जाने ठाउँ प्रदेश हो भनेको छु ,’ उनले भने ‘भूगोलका हिसाबले पनि यो जिम्मेवारी उपयुक्त भएकाले पहिलो प्राथमिकता सङ्गठन सुदृढीकरणलाई दिनेछु ।’ 

सभापतिका अर्का आकाङ्क्षी खड्ग फागोले पनि आफू लामो समयदेखि प्रदेश नेतृत्वका लागि तयारीमा रहेको बताएका छन् । उर्लाबारी नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका फागो कोशी प्रदेश काँग्रेसका सहमहामन्त्री हुन् । उनले प्रदेश सभापतिका लागि आफ्नो दाबी नयाँ नभएको बताएका छन् । उनी प्रदेशको पहिलो अधिवेशनका बेला देउवा क्याम्पमा पुगेका थिए । यस अघि उनी डा शेखर निकट थिए । 

प्रदेश सभापतिका लागि चर्चामा रहेका अर्का नेता मानबहादुर लिम्बू मोरङबाट प्रदेशसभामा प्रतिनिधित्व गर्छन् । प्रदेश मन्त्री बनिसकेका र सांसदका रूपमा सक्रिय उनी पनि प्रदेश पार्टीको नेतृत्वका आकाङ्क्षी हुन् । त्यस्तै, धनकुटा काँग्रेसका सभापति दिनेश राई जिल्ला नेतृत्वको अनुभवसहित प्रदेश सभापतिका दाबेदारका रूपमा चर्चामा छन् । लिम्बु यस अघि डा शेखर निकट थिए भने राई देउवाका खास भनेर चिनिन्थे । 

यसैबिच १५ औँ महाधिवेशनको प्रक्रियामा सामेल नभएको देउवा समूहले पनि अधिवेशनको लागि तयारी गरिरहेको छ । क्षेत्रीय प्रतिनिधि छनौट, केही पालिकाहरूको अधिवेशन सम्पन्न भए पनि अधिकांश नेता तथा कार्यकर्ता १५ औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुँदा सो समूहको खास चर्चा छैन ।