सुनसरी । सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र खेलाडीको प्रदर्शन प्रभावकारी बनाउने उद्देश्यले प्रदेश खेलकुद विकास बोर्डले प्रशिक्षकका लागि विशेष प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले इटहरीमा  दुईदिने ‘प्रशिक्षक रिफ्रेसर कोर्स–२०८३’ आयोजना गरेको हो ।

प्रतियोगितामा प्रदेशबाट सहभागी हुने खेलाडीलाई उत्कृष्ट प्रदर्शन गराउँदै पदक जिताउने तयारीस्वरूप प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ ।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट छनोट भएर आएका विभिन्न खेलका १ सय ४४ जना प्रशिक्षक सहभागी छन् ।

प्रशिक्षकको क्षमता अभिवृद्धि, खेल प्रशिक्षणका नयाँ विधि तथा प्रविधिबारे जानकारी गराउने र खेलाडीको प्रदर्शन सुधार गर्ने उद्देश्यले कोर्स सञ्चालन गरिएको हो ।

कार्यक्रमको कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले उद्घाटन गरिन् ।

उद्घाटन गर्दै उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गरिन् ।

प्रशिक्षकहरूको दक्षता र प्रभावकारी प्रशिक्षणले खेलाडीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका पूर्वनिर्देशक सारथि सेन गुप्तालगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

उनीहरूले खेल प्रशिक्षणका आधुनिक विधि, प्रशिक्षकको भूमिका, खेलाडीको क्षमता पहिचान तथा प्रतियोगिताका लागि आवश्यक तयारीका विषयमा प्रशिक्षण दिनेछन् ।

प्रदेश खेलकुद विकास बोर्डले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलाडी र प्रशिक्षकको क्षमता अभिवृद्धि तथा प्रदेशको समग्र खेल प्रदर्शन सुधारका लागि कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।