विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद डा अमरेशकुमार सिंहले मेची महाकाली पैदल यात्रा सुरु गरेका छन् । झापाको मेची पुलबाट नागरिकका समस्या र गुनासा सुन्न र बुझ्न भन्दै मेचीबाट पश्चिमको महाकालीसम्मको पैदल यात्रा सुरु गरेका हुन् । भद्रपुरबाट सुरु भएको यात्रा माघे सक्रान्तीका दिन महाकाली नदीमा पुगेर टुङ्ग्याउने लक्ष्य राखिएको सिंहले बताए ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सिंहले मङ्गलवार बिहान झापाको भद्रपुरस्थित मेची पुलबाट पदयात्रा थालेका हुन्। यात्रामा रास्वपाका नेता तथा कार्यकर्तासँगै शुभेच्छुक र प्रतिनिधिसभा सदस्यहरू पनि सहभागी छन्। यसअघि सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा रास्वपा सभापति रवि लामिछानेले अभियानको उद्घाटन गरेका थिए।
पदयात्राका क्रममा सिंहले विभिन्न स्थानका नागरिकसँग भेटघाट र संवाद गर्नेछन्। स्थानीय स्तरमा देखिएका समस्या, विकास निर्माणका आवश्यकता, सार्वजनिक सेवा प्रवाहमा रहेका कठिनाइ तथा नागरिकका अपेक्षाबारे प्रत्यक्ष जानकारी लिने उनको योजना छ।
सिंहले जात, धर्म, वर्ग र भूगोलका आधारमा समाजमा देखिएका विभाजन अन्त्य गरी राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्न अभियान अघि बढाइएको बताएका छन्।
उनले पदयात्रालाई भौगोलिक दूरी पार गर्ने कार्यक्रमका रूपमा मात्र नभई नागरिकका आवाज सुन्ने र उनीहरूका सरोकारलाई राष्ट्रिय बहससँग जोड्ने माध्यमका रूपमा लिएको बताए ।











