विराटनगर । भारतबाट आउने जङ्गली हात्तीले झापाको बाउनडाँगीमा किसानले लगाएको धान नष्ट गर्न थालेपछि सुरक्षाकर्मीले धान काट्न सघाउन थालेका छन् । झापाको मेचीनगर– ४ बाहुण्डाँगीमा प्रहरीहरूले किसानले लगाएको धान बाली थन्क्याउन सघाउन थालेका छन् । भारतबाट आउने जङ्गली हात्तीको बथानले पाकेको धान बालीमा क्षति पुर्‍याउन थालेपछि किसानको बाली बेलैमा भित्र्याउन सुरक्षाकर्मीहरूले सहयोग गर्न थालेका हुन् ।

पहिलो दिन हिजो धान काट्न  १४ जना सशस्त्र प्रहरी र ६ जना नेपाल प्रहरी  परिचालित भएका हुन् । धान थन्काउन सहज होस भनेर थप सुरक्षाकर्मी परिचालित हुने प्रहरीले जनाएको छ । 

२० जना सुरक्षाकर्मी , जनप्रतिनिधि , मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिका सदस्य, आरआरटी टोली र स्थानीय किसान गरी ३० जनाले मिलेर हिजो दिनभरि करिब ३ बिघा खेतको धान काटेका छन् । स्थानीय खेमनारायण घिमिरेको करिब ३ बिघा खेतको धान सबैले मिलेर काटिएको वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले बताए । हात्तीको बथानबाट जोगाउनका लागि छिटोभन्दा छिटो खेतको धान भित्र्याउन सामूहिक रूपमा धान काटेर सहयोग गर्ने क्रम निरन्तर चल्ने उनले बताए ।

धान काट्न खटिएका सुरक्षाकर्मी तथा सहयोगीलाई वडा कार्यालयका तर्फबाट खेतमै पुगेर खादा लगाई सम्मान तथा धन्यवादसमेत व्यक्त गरिएको छ। 

भारतबाट नेपालतर्फ हात्तीको आवागमन बढ्ने समयमा बाहुण्डाँगीका किसानलाई पाकेको बाली जोगाउनु चुनौतीपूर्ण बन्दै आएको छ। हात्तीको बथान खेतमा पस्ने डरले किसान रातभर जाग्राम बस्नुपर्ने अवस्था छ। यस्तो परिस्थितिमा सुरक्षाकर्मी र स्थानीय समुदायको संयुक्त प्रयासले किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सुरक्षा निकायको जिम्मेवारी शान्ति सुरक्षा कायम गर्ने, सीमा सुरक्षा, चोरी–तस्करी तथा अपराध नियन्त्रणमा मात्र सीमित नहुने बताए। उनले नागरिकलाई विपद् र सङ्कट परेको समयमा उनीहरूको दुःखमा साथ दिनु पनि सुरक्षाकर्मीको महत्त्वपूर्ण दायित्व बताए । 

उनले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न र किसानको बाली सुरक्षाका लागि सबै पक्षबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए। यसका लागि जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, स्थानीय सुरक्षा निकाय, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, जनप्रतिनिधि र स्थानीय किसानलाई सामूहिक अभियानमा जुट्न आग्रह गरिएको छ।