सुनसरी। स्थानीय तहलाई राजनीतिक दलको प्रत्यक्ष प्रभावबाट मुक्त राख्नुपर्ने विषयमा सुनसरीको रामधुनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
,स्थानीय तह दलविहीन सरकार, स्थानीय सरकार गैरदलीय किन ?’ भन्ने विषयमा शनिबार रामधुनी–५ स्थित संयुक्त भूपू सैनिक भवनमा अन्तरक्रिया भएको हो।
कार्यक्रमका मुख्य वक्ता राजनीतिक विश्लेषक डम्बर खतिवडाले स्थानीय तहको शासन प्रणाली, राजनीतिक दलको भूमिका र जनप्रतिनिधिको उत्तरदायित्वबारे धारणा राखेका थिए।
अन्तरक्रियामा स्थानीय तहलाई गैरदलीय बनाउने अवधारणा, स्थानीय सरकारमा राजनीतिक दलको प्रभाव तथा दलविहीन स्थानीय शासन प्रणालीका सम्भावना र चुनौतीबारे छलफल गरिएको थियो।
कार्यक्रम गैरदलीय स्थानीय तह निर्माण अभियानको आयोजनामा भएको हो। स्थानीय तहमा दलगत प्रतिस्पर्धाभन्दा स्थानीय मुद्दा, विकास र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने विषय कार्यक्रमको मुख्य बहस बनेको थियो।
कार्यक्रममा स्थानीय तहको वर्तमान राजनीतिक अभ्यास तथा आगामी दिनमा स्थानीय शासन प्रणालीलाई थप प्रभावकारी र जनमुखी बनाउन सकिने उपायबारे सहभागीहरूले धारणा राखेका थिए।











