विराटनगर । प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बु (लाजेहांग) को वैशाख ९ गते अन्त यष्टी गरिने भएको छ ।
प्रदेश सभाले कोशी नाम राखेको विरोधमा विराटनगरमा चैत्र ५ गते भएको प्रदर्शनका क्रममा लाजेहांगको मृत्यु भएको थियो ।
प्रदर्शनका क्रममा घाइते भएका लाजेहांगको उपचारका क्रममा निधन भएको थियो । उनलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ ।
लाजेहाङको शव परिवारजनसँग समन्वय गरेर वैशाख ९ गते शनिवार बेलबारीमा अन्त्येष्टि गर्ने निर्णय गरेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिंदेनले बताए ।
गत चैत ५ गते घाइते भएका लाजेहांगके चैत्र १० गते उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
लाजेहाङको शव झन्डै एक महिनादेखि मर्चरीमै राखिएको छ । लामो समयसम्म शव राखिदा सड्ने जोखिम भएपछि आन्दोलनरत पक्ष र परिवारजनलाई अन्त्येष्टि गर्नुपर्ने दबाब परेको थियो ।
अन्त्येष्टि अघि शव यात्रा पनि गरिने लिंगदेनले बताए । ‘बिहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरिनेछ भने इटहरीमा ११ बजे श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ,’उनले भने,‘दिउँसो साढे १२ बजे विराटनगर रोड शेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेशसभा परिक्रमा गराउँदै दिउँसो साढे २ बजे सहिद लाजेहाङको घर बेलबारीमा शव पुर्याइनेछ ।’
दिउँसो ४ बजे शवको अन्तिम संस्कार गरिने पनि सङ्घर्ष समितिको निर्णय भएको पनि उनले जानकारी दिए ।
मोरङको बेलबारी घर भएका लाजेहाङ धरान बसेर राजनीतिमा सक्रिय थिए । उनी सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर केन्द्रीय सहकमाण्डर थिए ।