इटहरी । पेसागत महासङ्घ नेपाल कोसी प्रदेश समितिको प्रथम पूर्ण बैठक शनिवार इटहरीमा सम्पन्न भएको छ । बैठकले सङ्घीय शिक्षा ऐन, निजामती सेवा ऐन, स्थानीय सेवा ऐन हालसम्म निर्माण हुन नसकेकोले तत्काल निर्माणसरि लागु गर्न माग गरेको छ। राजनीतिक अधिकार सहितको ट्रेड युनियन सुनिश्चित गर्न, पेसाकर्मीहरूको कार्यस्थलको सुरक्षाको लागि प्रत्याभूति दिलाउनुपर्ने, भरपाई, ज्यालादारी, करार, राहत, अस्थायी पेसाकर्मीहरूलाई दर वन्दीको व्यवस्था गरी योग्यता अनुभवका आधारमा एक पटककालागि आवश्यक प्रक्रिया पुरा गरी स्थायी गर्नुपर्ने माग बैठकले गरेको छ । लामो समयसम्म नामकरण हुन नसकेको प्रदेश १ को नामकरण गर्न सफल भएकोमा प्रदेश सरकार तथा प्रदेशसभाका सम्पूर्ण माननीयहरूलाई बैठकले धन्यवाद समेत दिएको छ ।
पेसागत महासङ्घले पछिल्लो समयमा देखिएका समसामयिक विषयहरूमा पनि सरकारको ध्यानाकर्षण गराएको छ । आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्था कमजोर भइरहेको अवस्थामा नेपाल सरकारले प्रगतिशील कदम चाल्नुपर्ने माग बैठकले गरेको छ ।
पेसागत महासङ्घ नेपाल कोसी प्रदेशका अध्यक्ष अशेष कुमार लम्सालको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको पूर्ण बैठकले केन्द्रीय अनुशासन विभाग प्रमुख राजकुमार गिरीले महासङ्घको प्रदेश कमिटी भवन निर्माणको लागि इटहरीमा एक कट्ठा जग्गा दिएकोमा गिरीलाई विशेष धन्यवाद दिएको छ ।
बैठकले प्रदेश समितिको कामलाई व्यवस्थित गर्न सात सदस्यीय प्रदेश सचिवालय पनि गठन गरेको छ । जसमा अशेष कुमार लम्साल, सत्यनारायण मेहता, कमला प्रधान, प्रेमप्रसाद भट्टराई, डिल्ली धिमाल, राजेन्द्र खत्री र दीपेन्द्र भट्टराई रहेका छन् । पेसागत महासङ्घ नेपाल कोसी प्रदेशको समग्र गतिविधिलाई प्रचार गर्न स्मारिका प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
जिल्ला समितिको कामलाई व्यवस्थित गर्ने उद्देश्यले बैठकले जिल्ला इन्चार्ज पनि ताकेको छ । जसमा वेदनिधि खनाल पाँचथर, राजेन्द्र खत्री ओखलढुङ्गा र सोलुखुम्बु, अस्मिता आचार्य सुनसरी, विष्णु भट्टराई तेह्रथुम, कमला प्रधान भोजपुर र सङ्खुवासभा, सुशील पराजुली मोरङ, नन्दकुमार कोइराला इलाम र झापा, सत्यनारायण मेहता धनकुटा, लक्ष्मीमाया ओमने ताप्लेजुङ र थिर बहादुर कार्की खोटाङ र उदयपुर रहेका छन् ।