इटहरी । पहिचानवादीको आन्दोलनमा अगुवाहरुले संयमता अपनाउनुपर्ने लेखक खगेन्द्र संग्रौलाले बताएका छन् । आज इटहरीमा भएको पहिचानवादीहरुको सभालाई सम्बोधन गर्दै लेखक संग्रौलाले आन्दोलनका अगुवाहरुले संयमता नअपनाउँदा दुःखत घटना हुन पुगेको बताए ।
पहिचानवादीहरुको सभालाई सम्बोधन गर्न इटहरी आएका संग्रौलाले पहिचानको आन्दोलन कहिले टुंगिन्छ भन्ने आफुलाई थाहा नभएको बताए ।
लेखक संग्रौलाले पहिचान आन्दोलनको नेतृत्व गर्नेहरुले उत्तेजना फैलाउने गरि कुनै पनि गतिविधि गर्न नहुने सुझाए ।
“पहिचानको आन्दोलन गर्न पाउनुपर्छ, शान्तिपूर्ण आन्दोलनमा दमन गर्न हुँदैन । यदि दमन भयो भने त्यसको प्रतिकार जनताले गर्छन्” लेखक संग्रौलाले भने “तर पहिलेनै उत्तेजना फैलाउने गरि, मान्छेका भावुकतालाई भड्काउने गरि, हामी जिम्मेवारीमा बसेकाहरु, नेतृत्वमा बसेकाहरु, जान्ने बुझ्ने भन्नेहरुले त्यस्तो केही पनि काम गर्नुहुँदैन ।”
पहिचानवादी आन्दोलनमा सहभागी हुने नेता तथा कार्यकताहरुलाई प्रशिक्षण दिनुपर्ने उनले सुझाव दिएका छन् । कार्यकर्तालाई प्रशिक्षित गराएर आन्दोलनमा सहभागी गराउँदा आन्दोलन भड्कीने सम्भावना कम हुने भन्दै संग्रौलाले आन्दोलन शान्तिपूर्ण बन्ने बताए ।
संग्रौलाले प्रदेश १ को नाम राख्ने बेला दलहरुले मुख्यमन्त्रि आलोपालो गर्ने सर्तमा रातारात नामाकरण गरेको आरोप लगाए ।
पहिचानको आन्दोलनको नेतृत्व गर्ने माओवादी केन्द्रले देशको सत्ता नेतृत्व गरेको समयमा पहिचान मेटिनु दुःखत भएको उनले बताए ।
पहिचानवादीहरुले इटहरीमा कोण सभा गर्ने भनेपछि आज विहानैबाट सुरक्षा व्यवस्था कडा बनाइएको थियो । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । जनपथ र शसस्त्र प्रहरीले इटहरीका मुख्य चौकमा गस्ति बढाएका थिए ।
इटहरीको मुख्य चौरस्ता चौकमा कोण सभा गरिएको थियो । प्रहरीले सभा स्थलमा सवारी साधानलाई प्रवेश गर्न रोक लगाएको थियो । मुख्य राजमार्गको सवारीलाई नै वाईपास गर्दै भित्री बाटोबाट सवारी सञ्चालन गरिएको थियो । मुख्य राजमार्ग वाईपास गरेपछि यात्रा गर्ने यात्रुहरु अप्ठ्यारोमा परेका थिए ।
कुनै अप्रिय घटना नहोस भन्नका लागि सवारी वाईपास गरेको प्रहरीले जनाएको छ ।