इटहरी । इन्टरनेट सेवा प्रदायकहरुले भरपर्दो सेवा दिन नसकेको भन्दै सेवाको गुणस्तर सुधार गर्न जोड दिईएको छ । 

नेपाल दुरसञ्चार प्राधिकरणले इटहरीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले इन्टरनेट सेवा प्रदायकहरुले गुणस्तीय सेवा दिन नसकेको भन्दै सेवा सुधार गर्न जोड दिईएको छ । 

इन्टरनेट सेवा प्रदायकहरुसँग भएको अनुमतिपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सूचना प्रविधि विज्ञ अमोद पुडासैनीले कार्यपत्र प्रस्तुत गरेका थिए। 

प्रस्तुत कार्यपत्रका आधारमा सेवा प्रदायकहरुको अनुमतिपत्रका शर्तहरु, दुरसञ्चार सम्बन्धमा भएका कानूनी ब्यवस्था, तोकिएको मापदण्ड बमोजिम सेवा प्रदान गर्नुपर्ने तथा उपभोक्ताको हकहितको संरक्षण कसरी गर्ने भन्नेबारे छलफल भएको थियो । 

कार्यक्रमका सहभागी सेवाग्राहीले सेवा प्रदायकहरुले तोकिएको इन्टरनेट सुविधा नदिएको,समयमा गुनासो सुनुवाई नभएको कुरा उठाएका थिए । 

यता सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले सडक मर्मत लगायत कार्य गर्दा तार काटिने हुँदा सेवा अवरुद्ध हुने विषय उठाएका थिए ।

प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेलले अन्तर सरकारी निकाय र संस्थाबीच समन्वयको अभावका कारण समस्या उत्पन्न भएको बताए ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, प्राधिकरणका उपनिर्देशक सुन्दर प्याकुरेल, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, उद्योग बाणिज्य सङघ इटहरीका अध्यक्ष जीवन पराजुली लगायतले बोलेका थिए । 

कार्यक्रममा सेवा प्रदायक संस्था, वित्तिय संस्था, निजि क्षेत्र, पत्रकार, प्राविधिकहरुको  सहभागिता रहेको थियो ।।