सुनसरी ।सुनसरीको इटहरी र धरान दुई उपमहानगरपालिका बिच सीमा विवाद उत्पन्न भएपछी संवाद मार्फत हल खोज्न इटहरीले आग्रह गरेको छ । धरानका नगरप्रमुख हर्कराज साम्पाङ राइले धरानको सीमा बोर्ड इटहरीको क्षेत्रमा राखेपछि सीमा बिवाद उत्पन्न भएको थियो । उत्पन्न सीमा बिवादलाई इटहरी उपमहानगरप्रमुख हेमकणर् पौडेलले वार्ता मार्फत समाधान गर्न आग्रह गरेका हुन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै बि सं २०१० साल भन्दा अगाडिबाट इटहरी धरानको सिमाना सेउती पुल रहेको ऐतिहासिक तथ्यलाई ख्याल गर्न नगरप्रमुख पौडेलले सुझाएका छन् । पौडेलले सीमा जस्तो संवेदनशील र गम्भीर विषयलाई संवाद, सहमति र सहकार्य गर्न आफू तयार रहेको बताए । बिवादलाई समाधान गर्न इटहरी उपमहानगरले धरान उपमहानगरलाई पत्रचार समेत गरेको नगरप्रमुख पौडेलको भनाई ।
धरान उपमहानगरको सेउती पुललाई मानिदै आएको अवस्थामा नगरप्रमुख हर्कराज साम्पाङ राइले आइतबार सांझ सेउती पूलभन्दा ५ किलोमिटर दक्षिण इटहरीको क्षेत्रमा सीमाना बोर्ड गाडेका थिए । उक्त बोर्ड युवा संघ नेपाल इटहरी उपमहानगर कमिटीले उखलेपछी बिवाद बढ्दै गएको हो ।