इटहरी । बैङ्कको चर्को ब्याजदर को विरुद्धमा उद्योग वाणिज्य सङ्घ इटहरीले चरणबद्ध कार्यक्रम ल्याउने भएको छ । उद्योग वाणिज्य सङ्घले अल्पकालीन र दीर्घकालीन योजना सहित सङ्घर्षका कार्यक्रम गर्ने गरी सङ्घका सदस्य ध्रुव अधिकारीको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।
बैङ्कको चर्को ब्याजदर को विरुद्धमा निरन्तर कार्यक्रम गर्ने उद्देश्यले समिति गठन भएको नवगठित समितिका संयोजक ध्रुव अधिकारीले जानकारी दिए । समितिका अन्य सदस्यहरू विभिन्न बस्तुगत सङ्घसँगको छलफल पछि दुई दिन भित्रमा थप गरी पूर्णता दिइने अधिकारीले जानकारी दिए ।
बैङ्कको ब्याजदरका विषमा पहिलो चरणमा सबै बैङ्कका जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको छ । यस्तै बैंर्कस सङ्घ, जिल्ला प्रशासन कार्यालय, प्रहरी, उपमहानगरपालिका सहित अन्य सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र सहित डेलिगेसनका लागि जाने संयोजक अधिकारीले जानकारी दिए ।
थप कार्यक्रमको योजना निर्माणका लागि उद्योग वाणिज्य सङ्घ इटहरीले आज विभिन्न वस्तुगत सङ्घका पदाधिकारी, सदस्य तथा अन्य व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
बैक तथा वित्तीय संस्थाको चर्को ब्याजदरका सम्बन्धमा वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुलीको अध्यक्षमा भएको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले बैङ्कले दिएको दुःखका बारेमा कुरा राखेका थिए ।
यस्तै विभिन्न वस्तुगत सङ्घका अध्यक्षहरूले व्यवसायीहरूले भोग्नुपरेको अन्य समस्याको बारेमा आफ्नो धारणा राखेका थिए ।
अन्तर्क्रिया कार्यक्रममा उठेका विषयका आधारमा थप कार्यक्रम विस्तार गरिने संयोजक ध्रुव अधिकारीले जानकारी दिए ।।