इटहरी । इटहरी उपमहानगरपालिकाले बिहीबारबाट घर नक्सा बनाउन विद्युतीय प्रणाली सुरु गरेको छ । बिहीबार इटहरीका मेयर हेम कर्ण पौडेल तथा उपमेयर सङ्गीता चौधरीले ब्यानर पढेर सेवाको सुचारु गरेका छन् । उपमहानगरले सुरु गरेको सेवाको विषयमा इटहरी उपमहानगरपालिकाका भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका प्रमुख इन्जिनियर कैलाश तिम्सिनासँग सञ्चारपाटीले गरेको  कुराकानी । 
इ बीपीएस भनेको के हो ? 
इ बीपीएस भन्नाले इलोक्ट्रोजिक बिल्डंग परमिट सिस्टम अर्थात् विद्युतीय भवन अनुमति प्रणाली हो । बुझ्ने भाषामा भन्दा विद्युतीय माध्यमबाट नक्सा पासको अनुमति लिने प्रणाली भन्न सक्छौँ । नगरबासीहरुले आफ्नो घरमै बसेर विद्युतीय माध्यमबाट लिङ्कबाट खोलेर हेर्न, कहाँ के भएको रहेछ, के नमिलेको रहेछ भन्ने कुरा आफैले हेर्न सक्छन् । छिटो र छरितो ढङ्गबाट सेवा दिन हामीले यो सेवा सुरु गरिएको हो । 
इ बीपीएस अनुसार कसरी घर नक्सा बनाउन सुरु गर्ने ? 
सुरुमा नक्सा बनाउने कन्सल्टेन्ट, डिजाइनर हुन्छन् । उनीहरूले नक्सा डिजिटल रूपमा तयार गर्छन् । नक्सा बनाउने डिजानईर तथा कन्सल्ट्यान्टहरु नगरपालिकामा सूचीकृत पनि भएको हुनुपर्छ । उनीहरूले नक्सा बनाएपछि नगरपालिकाको सिस्टममा अपलोड गरिदिन्छन् । अपलोड पछि, हाम्रो सिस्टममा आउँछ ।  हाम्रो विभिन्न शाखाहरू हुन्छन् । यी शाखाहरू एक आपसमा लिङ्क भएका हुन्छन् । शाखामा बस्नेलाई जिम्मेवारी दिइएको हुन्छ । हामीले कामको एउटा चार्ट बनाएका छौँ । त्यही चार्ट अनुसार शाखाबाट स्वीकृत हुँदै एकबाट अर्को शाखामा सर्दै जान्छ । यसरी कुनै विवाद आएन, सँधियारको समस्या भएन, जग्गामा झमेला नभए हामी १५ दिनको नोटिस हुन्छ त्यस हिसाबले २०। २१ दिनमै इजाजत दिन सक्छौँ । 
अहिले जग्गाधनीहरूले बाहिर कन्सल्टेन्सी बनाएको नक्सा आफै फाइल बोकेर नगरपालिकाको शाखा शाखा धाउँछन् तर अब घर बनाउन चाहनेले के गर्नुपर्‍यो ? 
जाने त डिजाइनर वा कन्सल्ट्यान्टहरु कहाँ नै जाने हो । जो नगरपालिकामा सूचीकृत छन् । उनीहरू मार्फत नै डिजिटल नक्सा बनाएर सिस्टममा अपलोड गर्नुपर्छ । एसएमएस सिस्टम राखिएको छ । हामी ५ देखी ७ पटक सम्म फाइल कहाँ पुग्यो भनेर एसएमएस पठाउँछौँ । कहाँ कुन शाखामा पुग्यो भनेर म्यासेज जान्छ । आफ्नो फाइल कहाँ कुन शाखामा छ आफैले हेर्न पनि सकिन्छ । राजश्व तिर्ने बेलामा पनि कति राजश्व लाग्ने हो, त्यो पनि म्यासेज जान्छ । घरधनी आउनुहुन्छ तोकिएको राजश्व तिर्नुहुन्छ । यो सिस्टम सुरु भएपछि सबै काम सरल हुन्छ । 
प्राविधिक हिसाबले हाम्रो तयारी के छ ? 
हामीले सफ्टवेयर कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्राविधिक सबैलाई फिजिकल तथा अनलाइन तालिम प्रदान भई काम गर्न सक्ने भएका छन् । कम्पनीबाट जुम मिटिङबाट डे टु डे अपडेट भईरहेकाछौँ । अर्को तर्फ कुनै प्राविधिक समस्या आए तत्काल समस्या समाधान गर्ने गरी हाम्रो तयारी छ ।  हामीले इ साईनीङको पनि तयारी गरेका छौँ । १६ जनाको इ साईनीङ एप्रुप गरिसकेका छौँ । 
यसको ब्याकअपको लागि एउटा हामीसँग यही नगरपालिकामै रहन्छ । अर्को सिंहदरबार भित्र रहन्छ र अर्को हेटौँडामा रहन्छ । ३ ठाउँमा रहन्छ । भोलि कुनै समस्या नआओस् भन्नका लागि हामीले ३ ठाउँमै रेकर्ड रहन्छ । त्यसले गर्दा रेकर्डमा पनि कुनै समस्या हुँदैन। हामी भन्दा अगाडि कहाँ कहाँ यो सिस्टम लागु छ ? त्यहाँ कति सफल भएको छ ? 
हामी भन्दा अगाडि  नेपाल भरी २४ देखी २५ नगरपालिका, उपमहानगरपालिकामा सुरु भइसकेको छ । हाम्रो छिमेकी उपमहानगरपालिका धरानमा पनि सञ्चालनमा छ । त्यहाँ राम्रो सफल भएको हुँ नाले, त्यहाँबाट सिकेर अगाडि बढेका हौँ । अनुभव पनि लिएका छौँ । अन्य ठाउँ भन्नुपर्दा बुटवल,ललितपुर, काठमाण्डौँैमा छ । 
धरानमा पनि इ साईनीङ सुरु गरेको छ । हामीले पनि इ साईनीङ गरेका छौँ । घरधनीले घरमै प्रमाण पत्र लिन सक्नुहुन्छ ।  सुरुमा अभ्यास हुन केही समय त लाग्ला । तर बिस्तारै सबैलाई बानी पर्दै जान्छ भन्ने हाम्रो अपेक्षा छ । 
इटहरीमा कन्सलट्यान्सी धेरै छन्, कुन चाहिँ नगरपालिकामा सूचीकृत वा इजाजत प्राप्त हो भनेर घरधनीले कसरी थाहा पाउने ? 
त्यसका लागि जो जग्गा धनी घर बनाउन चाहनुहुन्छ उहाँले इटहरी उपमहानगरको  वेबसाईडमा गएर हेर्न सक्नुहुन्छ । हामीले सूचीकृत कन्सल्ट्यान्सीहरुको नाम सहितका अन्य विवरण वेबसाईडमा राखेका हुन्छौँ । त्यहीँबाट आफ्नो लागि कन्सल्टेन्ट वा इन्जिनियर छनौट गर्न सक्नुहुन्छ । उपमहानगरमा सूचीकृत नभएका डिजाइनर वा कन्सल्ट्यान्सीहरुले सिस्टममै अपलोड गर्न सक्दैनन्, पाउँदैनन् । 
पुराना फाइलहरूको हकमा के व्यवस्था गरिएको छ ? 
पुराना फाइलहरूलाई हामीले डिजिटल गर्न स्कानिङ गर्दै छौँ । फाइलहरूलाई डिजिटल बनाएर राख्ने योजना हो । सोही अनुसार काम हुँदै छ । तर धेरै फाइल भएकाले केही समय लाग्ने देखिएको छ । हामीले डिजिटल गरेपछि पुराना फाइलहरू जो घर धनी हुनहुन्छ उहाँलाई बुझाउने योजना पनि छ । त्यसो भयो भने पुराना फाइलहरू हराउने डर कम हुन्छ । घरधनी आफैले लगेर पछि कुनै काम पर्‍यो भने ल्याउन पनि सक्नुहुन्छ । अर्को तर्फ हामीसँग पनि डिजिटल फाइल सुरक्षित नै हुन्छ ।