लेटाङ । मोरङको लेटाङ नगरपालिकाले आन्तरिक आम्दानी र सङ्घीय अनुदान घट्दा ठुला योजनामा असर पर्ने जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षमा अनुमान गरिएको भन्दा १५ करोड रुपैयाँ बजेट कम हुने जनाएको छ   बजेटको यथार्थता सार्वजनिक गर्दै नगरपालिकाका प्रवक्ता सूर्य मगरले १५ करोड भन्दा बढी बजेट घाटा हुने बताए  ।
उनले  त्यसको प्रत्यक्ष असर नगरका ठुला योजनामा परेको जानकारी दिए  । चालु आर्थिक वर्षमा ५१ करोड ९३  लाख ३४ हजार राजश्व विभिन्न शीर्षकबाट  प्राप्त हुने अनुमान गरिएको थियो । उनले भने हालसम्म ३१ करोड ११ लाख ५० हजार ५ सय ४८ रुपैयाँ प्राप्त भएको छ । 
१९ करोड ७४ लाख ४ हजार २ सय २७ रुपैयाँ अझै सङ्कलन हुनपर्नेछ छ  । उनले बाँकी रहेको रकम मध्ये १५ करोड ४५ लाख ३२ हजार ३ सय ८ रुपैयाँ अर्थात् २९ दशमलव ७५ प्रतिशत बजेट कम आउने देखिएकाले सो बजेट घाटा हुने अनुमान गरिएको बताए। उनले प्रदेश राजश्व बाँडफाँडबाट १७ दशमलव ५ प्रतिशत, सङ्घीय राजश्व ३४ दशमलव ९७ प्रतिशत, समानिकरण अनुदान, १२ दशमलव ५० प्रतिशत कम आएको बताए   ।  
 घरजग्गा कारोबारमा रोक लगाइएका कारण रजिस्ट्रेसन शुल्कबापतको रकम प्राप्तीमा कमी भई सङ्घीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँड रकममा करिब ३५ प्रतिशत कमी आएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यसै गरी नदीजन्य राजस्व घट्नुमा ठेक्का लगाउने क्षेत्र साँघुरिएको तथा नदीजन्य पदार्थको परिमाण समेत कम भएकाले कम आकारको ठेक्का लगाइएकाले असर परेको जनाइएको छ ।