विराटनगर । मोरङ–सुनसरी–कटहरी क्षेत्रका औद्योगिक कोरिडोरका उद्योगहरूमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्यूत आपूर्ति कटौती गरि दिने भनी धम्की दिएको तथा विद्युत् कटौती गरेको भन्दै मोरङ व्यापार सङ्घले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
विगतका कोभिडका बन्दाबन्दी तथा विद्यमान तरलता अभाव, चर्को बैङ्क ब्याजदर लगायत अनेक आर्थिक जटिलताहरूका बाबजुद जेनतेन सञ्चालनमा रहेका उद्योगहरूमा उद्योगको अक्सिजनको रूपमा रहेको विद्युतको आपूर्ति समेत असहज हुँदा उद्योगहरू जोखिमपूर्ण अवस्थामा पुगेको सङ्घले जनाएको छ। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सङ्घले प्राधिकरणबाट केही महिनायता भई रहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत् कटौती भएको जनाएको छ । विद्युुत कटौतीले समस्याग्रस्त उद्योग क्षेत्रको नेतृत्व गर्दै यस सङ्घले प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रिडमा गई उद्योग क्षेत्रका लागि निर्बाध विद्युत् आपूर्ति गरिनु पर्ने, विद्युत् कटौती गर्ने निर्धारित तालिका उपलब्ध गराउनु पर्ने माग गर्दै असहज विद्यूत आपूर्तिको अवस्था विरुद्ध विरोध गर्दै आएको थियो । ‘उद्योगहरूको हकमा हाम्रो नेतृत्वमा सञ्चालित उक्त कार्यक्रम लगत्तै हाल प्राधिकरणले उद्योगहरूमा कपासिटर बैङ्क नभएको वा सञ्चालन नगरेको सामान्य प्राविधिक कारण देखाउँदै सम्बन्धित उद्योगलाई कुनै लिखित सूचना विना नै मौखिक रूपले तत्कालै विद्युत् आपूर्ति कटौती गरिदिने धम्की दिइएको छ, विज्ञप्तिमा भनिएको छ, प्राधिकरणका जिम्मेवार अधिकृतहरूबाट त्यस प्रकारका गतिविधिहरू कतै यस सङ्घको विरोध कार्यक्रमको प्रतिशोध स्वरूप त होइन?भन्ने प्रश्न उब्जिएको छ ।’
सङ्घले प्राधिकरणलाई जिम्मेवार पूर्ण तवरले उद्योगहरूको मर्मलाई आत्मसात् गर्दै उद्योगहरू प्रति संवेदनशील भई विद्युत् आपूर्ति सहज गरिदिन आग्रह गरेको छ। विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, कपासिटर बैङ्क सञ्चालनमा ल्याउन नसकेका उद्योगहरूलाई उचित समय दिन, सङ्कटग्रस्त उद्योगहरूमा कुनै प्रकारका धम्की÷त्रासका वातावरण सृजना नगरिदिन आग्रह गरेको छ।
सङ्घले हजारौँ श्रमिकहरूको रोजगारीको संरक्षण गर्न प्राधिकरण सहित सम्बन्धित सबैमा अपिल गरेको छ।