विराटनगर । चाइनाबाट ल्याएको स्याउ भारत तर्फ भइरहेको तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षक र शस्त्र प्रहरी निरीक्षक कारबाहीमा परेका छन् ।
झापाको केचनाबाट तस्करी गरेर भारत तर्फ लैजाँदै गरेको १ सय १५ कार्टुन फूजी स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म घेरा बारीका डिएसपी सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक कारबाहीमा परेका हुन् ।
उनीहरूलाई तस्करीमा संलग्न रहेको आरोपमा कारबाही स्वरूप सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय कोशी प्रदेश सुनसरीमा तानिएका हुन् । वैशाख १७ गते झापाको कच कवल स्थित लोदा बरी चोकमा मे १ ज २८०४ नम्बरको टाटा गाडीमा एक सय १५ कार्टुन स्याउ बरामद भएको थियो । सो स्याउ लोदा बारी नाका हुँदै भारत निकासा गर्न तयारी थियो ।
स्याउ पक्राउ बरामद भएपछि सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमाँगाइको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । छानबिनका क्रममा शर्मा र धानुकको समेत संलग्नता देखिएको समितिले जनाएको छ । छानबिनका क्रममा स्याउ तस्करीमा डिएसपी र इन्स्पेक्टर संलग्न देखिएकालागि अनुसन्धानका लागि तानिएको सशस्त्र प्रहरीका डिआइजी अञ्जनी कुमार पोख्रेलले बताए ।
शर्माको ठाउँमा डिएसपी प्रभात गौतम र केचनामा इन्स्पेक्टर जितेन्द्रबहादुर बस्नेतलाई अस्थायी रूपमा जिम्मेवारी दिएर पठाइएको छ । छानबिन समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै डिआइजी पोखरेलले प्रारम्भिक छानबिनको क्रममा डिएसपी र इन्स्पेक्टर घटनामा संलग्न रहेको देखिएकोले प्रतिवेदन आएपछि दोषी ठहरेमा उनीहरूमाथि थप विभागीय कारबाही हुने उनले बताए । उनीहरूलाई फिर्ता नहुने गरी बाहिनी तानिएको उनले जानकारी दिए ।
कच कवल नाकाबाट स्याउ तस्करी भइरहेको सूचना पाए लगत्तै सशस्त्रले वैशाख १७ गते मे.१ ज २८०४ नम्बरको योद्धा पिक अप गाडीमा लोड गरिएको १ सय १५ कार्टुन चाइनिज फुजी स्याउ बरामद गरेको थियो ।