विराटनगर । भारत तर्फ लैजान लागेको अवैध ५४ तोला सुन र ८ चाँदी सहित व्यापारी घरान दुगड ग्रुपको लेखापाल पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरीले रानी नाका तर्फ जाँदै गरेको को. २ च १४९५ नम्बरको इको भ्यानबाट सो सुनचाँदी बरामद गरेको हो । भ्यानमा सवार दुगड ग्रुपका लेखापाल र उनकी श्रीमतीसँग सात लाख भारतीय रुपैयाँ समेत बरामद भएको छ ।
प्रहरीले पक्राउ गरेका विनोद कुमार मुररका दुगड ग्रुपका लेखापाल हुन् । उनको घर भारतको विहार कटिहार हो । ६१ वर्षीय मुरारका सहित उनकी ५६ बर्सिया श्रीमती पुष्पा मुरारका र भ्यान चालक विराटनगर–२ का ५२ वर्षीय विमल कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूको साथबाट सुनको ठुलो बिस्कुट ३ थान (३० तोला), सानो बिस्कुट ६ तोला, सिक्काहरू ३६ ग्राम, ४० ग्रामको १० थान सिक्का, कनौती ५.७८ ग्रामको दुई थान, इयरिङ ६.५० ग्रामको दुई थान गरी ५४ तोला सुन बरामद भएको कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रहरीले १७ सय १९ ग्राम चाँदीको ११ थान ढिक्का, ९२.८० ग्राम बुनियाँ, २६८.३२ ग्रामको ७८ थान सिक्का बरामद गरेको छ । यस्तै चार मुखे कचौरा (दियो) ५०.१४ ग्रामको एक थान, सिँदुर राख्ने सिसी ५.४८ ग्रामको एक थान, थाल २४१४.०८ ग्रामको ६ थान, कचौरा ३९७.८४ ग्रामको ६ थान, चम्चा ३०३.४९ ग्रामको ६ थान, गिलास ३६८.८३ ग्रामको ६ थान, मड्की ३७.८८ ग्रामको एक थान, डिनर सेट ४ थान बरामद गरेको बास्तोलाले जानकारी दिए ।
प्रहरीले भारतीय रुपैयाँ ७ लाख ९५ हजार २ सय ८९ रुपैयाँ पनि बरामद गरेको छ । बरामद गरिएको सामान करिब ९० लाख मूल्य बराबरको रहेको छ ।
बरामद गरेको सुन, चाँदी र प्रतिवादीहरूलाई प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरीमा आज (आइतबार) बुझाउने तयारी गरेको छ ।