पथरी  । मोरङको पथरी बजारबाट बुद्ध चोक हुँदै ५ किलोमिटर दक्षिण झरेपछि पुगिन्छ टाइगर चोक । टाइगर चोकको पूर्व पट्टी खिया लागेको  टिनको छानो भएको घरबाट बिहीबार बिहान खुट्टा खल्चयांग खल्चयांग गर्दै बाटोमा निस्किए कृष्णप्रसाद नेपाल । साथैमा आइन् रुपादेवी भण्डारी नेपाल । 

कोभिड महामारी सुरु हुनु अगाडि सम्म नेपालको घरमा रनघन किराना पसल चलेको थियो । उनी गाउँमै होलसेल किराना पसल चलाउँथे । दैनिक १० हजार रुपैयाँ सम्मको व्यापार घरमै हुन्थ्यो । घरको व्यापार हेर्थे छोरा लीलामणि र रुपा किराना स्टोरकी साहुनी अर्थात् नेपालकी श्रीमती रुपादेवी । 

दुई वटा सटर भएको उनको घरको एउटा सटरमा चिया प्याकेजिंग गर्ने श्री कृष्ण चिया प्याकेजिंग उद्योग थियो  । उनी  विभिन्न चिया उद्योगबाट धुलो चिया रङ्ग ल्याएर त्यहाँ प्याकेजिंग गर्थे । 

Ghar

प्याकेजिंग गरेको चिया रङ्ग र किरानाका सामान  फिक अप गाडीमा हालेर कृष्ण  गाउँ गाउँ बेच्न जान्थे । गाडीमा सामान लिएर हिँडेका नेपाल बेलुका फर्कँदा २० देखि ३० हजार रुपैयाँको व्यापार गरेर फर्कन्थे । यो २०७८ सालको कुरा हो ।  बिहीबार हामी पुग्दा भने उनको न किराना पसल थियो न त चिया प्योकजिंग गर्ने उद्योग नै ।

औपचारिक चिनजान गरेपछि  घर भित्र लगे नेपाल दम्पतीले । चिया प्याकेजिंग गर्ने सटरलाई नेपालले आजकाल सुत्ने कोठा बनाएका छन् । त्यही कोठामा राखिएका दुई वटा खाटमा असरल्ल कागजपत्र छरिएका थिए । प्रेसरले हानेपछि खुट्टा राम्ररी टेक्न र राम्ररी बोल्न नसक्ने कृष्ण प्रसादले कागज देखाँउदैे सुनाउन सुरु गरे आफ्नो कथा । 

paeko paisako Hisab

बैङ्कको घन चक्कर 

चिया प्याकेजिंग उद्योग सञ्चालन गर्न र किराना पसल चलाउन पथरीमै रहेको मनकामना सहकारीबाट उनले १५ लाख रुपैयाँ ऋण लिएका थिए । पसल र चिया प्याकेजिंग उद्योगको व्यापार राम्रो भएकाले उनलाई सहकारीको साँवा र व्याज बुझाउन समस्या थिएन । गाउँकै लालबहादुर बस्नेतको सल्लाहमा सामान बोक्ने गाडी किन्ने निर्णयमा पुगे कृष्णप्रसाद । बस्नेतले एनआइसी एसिया बैकबाट ऋण लिएर गाडी लिएका थिए । सोही गाडी किन्नका लागि बैकिंग प्रक्रियामा गए कृष्ण नेपाल । 

सुरुमा गाडीको किस्ता बुझाउनु पर्ने एनआइसी एसिया बैक पथरी शाखामै गए। जग्गा धितो राख्ने भए ४५ लाख रुपैयाँ ऋण दिने बताए त्यो बेलाका एनआएसी एसिया बैक पथरीका शाखा प्रमुखले । 

मनकामना सहकारीको ऋण चुक्ता गर्ने,गाडी पनि किन्ने र व्यापार बढाउने उद्देश्यले उनी ऋण लिने प्रक्रियामा लागे । नेपालले भने, “सुरुमा ऋण दिने सहमति जनाएको बैकले ३ महिना धाउँदा पनि ऋण दिएन ।”व्यापार बढाउन गाडी नकिनी नछाड्ने निर्णयमा पुगेका नेपाललाई ऋण लिन आउनुस् भने तत्कालीन सृजना फाइनान्सका पथरी शाखा प्रमुख  सिताराम ंदङ्गालले । 

त्यसपछि उनी एनआएसी एसिया छाडेर सृजना फाइनान्स तर्फ लागे कागजपत्र बोकेर । फाइनान्सले ऋण दिने भनेपछि उनले गाडी किने । गाडीमा व्यापार पनि सुरु गरे । कागजपत्र हेर्दै गएपछि तपाइको जग्गामा जाने बाटो छैन । नेपालले सुनाए,“ बाटोका लागि ३ कट्ठा मुखको जग्गा किन्नु पर्छ ऋण दिन्छौ भने बैकका कर्मचारीले । उनले बैकको कुरा माने  साँधको  २ कट्ठा १७ धुर जग्गा १६ लाखमा किने । साबिक राज गढ गाविस अहिलेको रतुवा माई नगरपालिकाको कित्ता नम्बर झ १४७ जग्गा किन्न मन्जुर भएपछि उनलाई फाइनान्सले ३५ लाख रुपैयाँ ऋण दियो । उनले राज गढ वडा नम्बर ६ कित्ता नम्बर ५६ को १५ कट्ठा, कित्ता नम्बर २२४ को १० कट्ठा र नयाँ किनेको कित्ता नम्बर १४७ को २ कट्ठा १७ धुर जग्गा बैकमा धितो राखेपछि ३५ लाख रुपैयाँ ऋण पाए । 

३५ लाख रुपैयाँको कागजमा सही गरे पनि बैकले सेवा शुल्क र कर्जा सूचना भनेर ७१ हजार रुपैयाँ काट्यो । इन्जिनियरलाई भनेर ५ हजार र अडिट भनेर ३३ हजार रुपैयाँ काट्यो  उनले बैकका कर्मचारीले लेखेर दिएको कागज देखाउँदै भने । 

लिएको ऋण मध्ये १६ लाख रुपैयाँ  २ कट्ठा १७ धुर जग्गाका साहु गणेश चौलागाईलाई दिए । १४ लाख रुपैयाँ मनकामना सहकारीको ऋण तिर्न खर्च गरे  । बैकका कर्मचारीले नै जग्गाको अगाडि रहेको पैनी पुर्नु पर्छ जग्गाको अझै भ्यालुएशन बढ्छ भन्ने सुझाव दिए । कर्मचारीको सुझावपछि उनले ४ लाख रुपैयाँ खर्च गरेर पैनी पुरे । पछाडि पट्टै पैनी बनाए । बैकबाट पाएको ३४ लाख रुपैयाँ  यसरी नै सकियो । 

न गाडी रहयो न पसल र  प्याकेजिंग उद्योग 

बैकबाट ऋण लिएपछि नेपालका दुखका दिन सुरु भए । ऋण लिएर पनि गाडीको किस्ता तिर्न सकेनन् । उनले ५ लाख रुपैयाँ यस अघि नै लालबहादुर बस्नेतलाई दिइसकेका थिए । उनी गाडीको २२ हजार मासिक किस्ता र सिर्जना फाइनान्सको ५० हजार किस्ता बुझाउने चक्करमा लागेले । व्यापारले किस्ता धानिरहेका बेला उनले १८ महिना गाडीको किस्ता बुझाए । 

कोभिडको महामारी सुरु भएपछि उनले गाडीमा व्यापार गर्न पाएनन् । व्यापार नभएपछि किस्ता तिर्न उनले विभिन्न लगूबित्तबाट ऋण लिन थाले । उनले भने, त्यही बेला उनकी आमको मृत्यु भयो । काज क्रियामा थप ऋण लाग्यो । 

कोभिड महामीरका बेला पनि जेन तेन किस्ता तिरिरहेका नेपालले ७७ सालबाट भने गाडीको साँवा व्याज तिर्न सकेनन् । गाउँ गाउँ गएर व्यापार गर्ने उनको गाडी बैकले खोसिदियो । उनको अधोगति अझै बढ्यो । 

गाडी खोसिएपछि उनको व्यापार घट्दै गयो । सृजना फाइनान्स मर्जर भएर सिटिजन्स बैक भएपछि बैकले उनलाई थप तनाव दिन थाल्यो । समयमा साँवा व्याज बुझाउन नसकेपछि उनले दिदीको नाममा रहेको जग्गा एनआइसी एसिया बैकमा धितो राखे । १० लाख रुपैयाँ ऋण लिएर उनले सिटिजन बैकको साँवा व्याज बुझाउन थाले । उनले भने,“ ऋण लिएर भए पनि साँवा व्याज बुझाइरहेको थिए  । यसरी सकिन्न भनेर  जग्गा बेचेर ऋण चुक्ता गर्ने योजना बनाए । ”

udyog

जग्गाको बैना भयो बैकले बेच्न दिएन 

सिटिजन बैकमा साँवा र व्याज बुझाइ रहेका नेपालले जग्गा किन्ने ग्राहक खोजे । मोरङ उर्लाबारीका शान्तिराम दाहाल, रौतहटका विजय यादव सहितको शिव शक्ति रियल स्टेट एन्ड कम्पनीले  २०७७ साल फागुन ६ गते जग्गा किन्न टोकन बैना ग¥यो । 

राज गढ वडा नम्बर ६ को कित्ता नम्बर ५६ को १५ कट्ठा, कित्ता नम्बर २२४ को १० कट्ठा, गोविन्दपुर ४ झको कित्ता नम्बर १४७ को २ कट्ठा १७ धुर र राज गढकै कित्ता नम्बर २२३ को ५ कट्ठा जग्गा किन्न १ करोड ८ लाख ५० हजारमा बैना भएको कागजमा उल्लेख छ । फादन कुमार तामाङले लेखेको बैना कागजमा २०७८ साल वैशाख मासान्त सम्ममा सबै पैसा दिएर जग्गा पास गर्ने उल्लेख छ । तर बैकले लिलामी प्रक्रियामा गइसकेको भन्दै जग्गा बेच्न र किन्न नदिएको शान्तिराम दाहालले बताए । 

उनले बैकले असहयोग गरेपछि आपूहरू जग्गा किन्नबाट पछि हटेको बताए  । उनले भने हामीले जग्गा नकिने पनि बैना स्वरूप दिएको ४० हजार रुपैयाँ समेत फिर्ता मागेका छैनौ । 

हामीले व्यापार गर्नकै लागि भनेर जग्गा किन्न लागेका थियो। धेरै पटक बैकमा पनि गयौ तर बैकले लिलामी प्रक्रियामा गइसकेको भन्दै जग्गा किन्न दिएन । 

Tokan Baina Kagaj

उनले भने त्यो बेला लिलामी प्रक्रियामा गइसकेको थिएन । हामीले बैंकको साँवा व्याज दिन्छौ  । उभ्रिएको पैसा कृष्ण नेपाललाई दिएर जग्गा पास गर्छौ भन्दा समेत बैक मान्दै मानेन । 

शिव शत्ती रियल स्टेटले जग्गा नकिनेपछि नेपालको जग्गा किन्न इटहरका खगेन्द्र कार्कीको समूह लाग्यो । उनीहरूले एक करोड दिने भनेर मौखिक कुरा पनि गरे । जग्गा किनबेचको प्रक्रिया चलेपछि उनीहरू बैकमा गए । बैकले लिलामीको प्रक्रियामा गइसकेकाले नियम अनुसार हुने भनेपछि कार्कीको समूह समेत नेपालको जग्गा किन्नबाट पछि हट्यो ।  

२०७७ साल फागुनमा जग्गा बेच्ने बैना हुँदा बैक लिलामी प्रक्रियामा नगएको प्रमाण बैकले कृष्णलाई पठाएको कागजतले देखाँउछ । सिटिजन बैकले २०७९ साल भदौ २३ गते मात्रै अन्नपूर्ण पोस्टमा लिलामी बिक्रीको १५ दिने सूचना प्रकाशित गरेको देखिन्छ । सूचना प्रकाशन भएकै दिन नेपाललाई बैकले जानकारी सहितको पत्र पठाएको छ  । 

बैकले त्यसपछि २०७९ साल मङ्सिर १४ गते धितो रहेको चल अचल सम्पत्ति लिलामी बिक्रीको ७ दिने सूचना पुन अन्नपूर्ण पोस्टमा प्रकाशित गरेको छ । सो सूचना प्रकाशित भएकै दिन पुन नेपाललाई बैकले कर्जा चुक्ता गर्नु नभए नियमाअनुसार हुने ब्यहोराको पत्र पठाएको छ । 

जग्गा बिक्री गर्न बैकले नदिएकै बेला नेपालका बुबा भिमप्रसाद नेपालको मृत्यु भयो । काजक्रिया बाट निस्कन बित्तिकै कृष्णको ब्लड प्रेसर बढ्यो । प्रेसरले हानेपछि उनको एउटा खुट्टा नचल्ने भयो । बोलीमा समेत समस्या भयो । लामो समय ओच्छ्यानमा थलापरेपछि उनले साँवा व्याज बुझाउन सकेनन्  

samayabadhi nibedan

बैकद्धरा लिलामीको सूचना दिन इन्कार 

साँवा र व्याज बुझाउन नसकेपछि नेपालले २०७८ साल भदौ १८ गते बैकलाई निवेदन लेखे । उनले कोभिड महामारी र बिरामीका कारण साँवा व्याज बुझाउन नसकेको भन्दै समय अवधि थप गर्न निवेदन दिए । उनले जग्गा बेचेर साँवा व्याज तिर्ने भन्दै बैकमा निवेदन दिएका थिए । तर बैकले समय अवधि थप गरेन । समय अवधि थप नगरपछि सहजिकरणका लागि अनुरोध गर्दै पथरी शनिश्चरे नगरपालिकाको न्यायिक समिति गुहारे । न्यायिक समितिले बोलाउँदा बैकका कर्मचारी गएनन् । तत्कालीन न्यायिक समितिका सदस्य भद्र विश्वकर्माले भने, हामी न्यायिक समितिमा आउँदैनौ कानुनी प्रक्रियामा जानु भन्दै बैकले कर्मचारी पठाएन । 

सिटिजन बैकले जग्गा बिक्री गर्न नदिएपछि पैसाको जोहो गर्न नसकेका नेपालको जग्गा लिलामी भएको छ । तर कसले र कति पैसामा जग्गा सका¥यो भनेर आफूहरूले जानकारी नपाएको नेपालका छोरा लीलामणि नेपालले बताए । उनी एक महिना अघि बैकको पथरी शाखामा जाँदा सुरुमा बैकले सूचना दिन नमिल्ने भन्दै फर्काएको थियो । उनी  पुन बैकमा गएर कुरा गर्दा बुबालाई लिएर आउनु भनेको बताए । उनले भने, बुबा हिँड्न सक्नु हुन्न, उहाँको निवेदन लिएर आउँछु भन्दा पनि बैकले कसले कति पैसामा लिलामी भएको भनेर जानकारी दिएन ।

बैकका प्रदेश प्रमुख भन्छन् सबै प्रक्रियामा भएको छ

सिटिजन बैङ्क कोशी प्रदेशका प्रमुख प्रदीप सेढाँइले प्रक्रियामा गएर कृष्ण प्रसाद नेपालले ऋण लिँदा राखेको धितो जग्गा लिलामीमा गएको बताए । उनले पटक पटक सूचना निकाल्दा र  आफू गएर भेट्दा समेत नेपालले साँवा व्याज चुक्ता गर्न नसकेको बताए । उनले जग्गा बिक्रीमा बैकले कुनै अवरोध नगरेको दाबी गरे । उनले भने बैकले एकै चोटि लिलामी गर्ने भन्ने हुँदैन । हामी प्रक्रियामा चलेका छौ । प्रक्रिया अनुसार लिलामी भएको हो । उनले कसैको जग्गा हडप्ने बैकको नीति नभएको भन्दै कानुन अनुसार पटक पटक सूचना जारी गर्दा र व्यत्तीगत रूपमा गएर भन्दा समेत नेपालले ऋणको साँवा र व्याज नबुझाएकाले बाध्य भएर लिलामी गरेको दाबी गरे । 

उनले ऋणी आएर लिलामीको सूचना मागे सबै सूचना दिने बताए । हाम्रो पनि प्रक्रिया छ नि प्रक्रिया भन्दा न म जान सक्छु न अरू ?