विराटनगर । विराटनगरका गिरीराज बस्नेतले बुद्ध एयरको जागिर छाडेपछि विराटनगरमा होटल खोले । विराटनगरको एयरपोर्ट गेट नजिकै पार्टनर सिपमा खोलेको होटल थियो एसिया टिक ।
उनको विराटनगरमा नाम चलेको होटलमा लगानी थियो । कोरोना महामारीका कारण होटल व्यवसाय थिलथिलो भयो ।
२० वर्ष बुद्ध एयरमा सिनियर स्टेसन म्यानेजर र १० वर्ष नेपाल एयरलाइन्समा काम गरेका गिरीराजलाई छोराहरू विदेश नजाउन् भन्ने लाग्थ्यो ।
गैर सरकारी संस्थामा काम गने आमा प्रतीक्षालाई पनि छोराहरूले यतै काम गरुन् भन्ने लाग्थ्यो । छोराका साथीहरू धमाधम विदेश गएर उतै बस्न थालेपछि पिरोलिएका बस्नेत दम्पत्तीलाई छोराहरूले यतै केही उद्यम व्यवसाय गरुन् भन्ने लागि रहन्थ्यो ।
तर कसरी ? छोराहरूलाई नेपालमै रोक्ने कुनै योजना भने थिएन । कोरोना महामारीमा परिवारसँगै थिए । होटल व्यवसाय थिलथिलो थियो । यही असहज परिस्थितिमा उनीहरूको दिमागमा आयो ‘ग्रिन यार्ड याग्रो फार्म’को कन्सेप्ट ।
नेपालमै प्रयोग नभएको पूर्ण स्वचालित गाई फार्म र दूध उत्पादन गर्ने सपना कोरोना कालमा बुनियो । कोरोना महामीरकै बेला उनीहरूले कागजी योजना बनाए । तर उनीहरूसँग पैसा थिएन । के गर्ने ?
गिरीराजले सुनाए, ‘जस्तो सकै महामारीमा पनि प्रोडक्सन भयो भने दुख पाइन्न । कोरोना महामारीले उत्पादनको भविष्य देखाएपछि होटलको शेयर बेच्ने निर्णय गरे ।’ परिवारको सल्लाहमा उनले होटलको सेयर बेचे र गाई फार्मको सपना बुन्न थाले ।
भारतको दिल्लीमा बस्दा छोरा प्रगिशले केही गाई फार्महरू हेरेका थिए । उनले कागजी प्रक्रिया र प्रविधिको बारेमा रिर्सचहरु गरे । यो काममा विज्ञानले सहयोग गरे । आवश्यक लगानीको जोहो बुबा गिरीराजले गर्न थाले ।
कोरोना कालमा दुई वर्ष रिसर्च गरेपछि उनीहरूले मोरङको कटहरी गाउँपालिका वडा नम्बर सात टकीयामा सुरु गरे अत्याधुनिक ग्रिन यार्ड याग्रो फार्म ।
विराटनगरबाट नजिकै रहेको ग्रामीण क्षेत्रमा उनीहरूले नौ विगाह क्षेत्रमा सञ्चालित माछा फार्म किने । पछि उनीहरूले वरी परिको जग्गा किन्दै फार्मका लागि भनेर १५ विगाह जग्गा जम्मा गरे ।
भारतको पुनेबाट डेभियल कम्पनीको गाई पालन सम्बन्धी प्रविधि नेपालमा भित्राए । अन्तर्राष्ट्रिय कम्पनी डेभियलको प्रबिधि अनुसार अत्याधुनिक गोठ निर्माण गरे । गाईका लागि आवश्यक पर्ने दाना बनाउने टिएमआर प्रविधि, मिल्क पार्लर, स्लरी र स्क्रेचर पनि नेपाल भित्राए ।
एमबिए गरेका दाजु भाइको नाममा बस्नेत परिवारले कम्पनी दर्ता गरे । यसपछि होलस्टीन जातका दुधालु गाईहरू किने । उनीहरूको गाई फार्ममा अहिले १सय ५ वटा दुहुना गाई छन् ।
एउटा गाईले दिनको ३५ लिटर सम्म दूध दिन्छन् । बस्नेत दाजुभाइको फार्ममा अहिले दैनिक १५ सय लिटरसम्म दूध उत्पादन हुन्छ । यसको बजार मूल्य दैनिक एक लाख रुपैयाँ हो । फार्ममा उत्पादित दूध सिधै डेरीलाई बिक्री गर्दै आएका छन् ।
फार्ममा अरू ५० वटा जति बाछीहरू हुर्किँदै छन् । बाछी उत्पादनका लागि उनीहरूले सिमेन ब्रिडिङ्गको काम थाले । ब्रिडिङ्गका लागि सिमेन कन्टेनर फार्ममै राखेका छन् । सेक्सेड सिमने ल्याएर गर्भधारण गराउन थालेका छन् ।
फार्ममा भेटिएका विज्ञानले भने, ‘सेक्सेड सिमेनबाट ९० प्रतिशत सम्म बाछी नै जन्मिन्छ । हामी अव वर्षको १ सय वटा बाछी जन्माउने योजनामा छौ । ’ हाम्रो लक्ष्य दूध उत्पादन गर्ने मात्रै होइन । उनले सुनाए,‘ नेपालमा अभाव रहेको उन्नत जातको गाइको बाछा उत्पादन गर्नु पनि हाम्रो उद्देश्य हो । ’
उनीहरूले फार्ममा गाइहरूको हेरचाहका लागि मासिक एक लाख रुपैयाँ दिएर मध्य प्रदेशबाट भेटनरी डाक्टर ल्याएका छन् । उनी पूर्ण कालिन कर्मचारीको रूपमा फार्ममा बसेर गाइको हेरचाह र व्यवस्थापन गर्छन् । डाक्टरले नै गाइलाई आवश्यक पर्ने आहारको निर्माण गर्छन् ।
३ विगाहमा माछा, भैँसी र बाख्रा फार्म
याग्रो फार्ममा अहिले २ विगाहमा माछा पालिएको छ । एक एक बिगाहामा दुई वटा माछा पोखरी र १० –१० कट्ठाका दुई वटा माछा पोखरी छन् ।
माछाबाट खर्च कटाएर वार्षिक २२ लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको निर्देश गिरिराजले बताए । उनले माछा हेर्नका लागि छुट्टै कर्मचारी राखेका छन् । सुरुमा माछा फर्म थियो । गाई नै पाल्ने उद्देश्य भएनि गाइबाट उत्पादन नहुन्जेल सम्मका लागि धान्न माछा पोखरीमा माछा हालेको उनले बताए ।
उनको फार्ममा दुई सय वटा जति खरी र बोयर जातका बाख्रा पनि छन् । फार्ममा रहेको चरिचरण क्षेत्रको सदुपयोगका लागि बाख्रा पालन गरेको उनले बताए । हामीले दूध उत्पादनका लागि भेैसी समेत पालेका छौ । २७ वटा भैँसी गोठमा दुहुनो छन् ।
उनले ने ५ लाख हालेर गुजरातबाट बिउँ राँगो ल्याएका छौ । यतिको राँगो नेपालमै छैन । प्रदेश सरकारले यसको सिमेन सङ्कलन गर्ने र भण्डारण गर्ने प्रविधि उपलब्ध गराए अरू किसानलाई पनि फाइदा हुने छ । ’