इटहरी । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने धारणा व्यक्त गरे । सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै नै मजदुर आबद्ध भएकाले उनीहरुलाई  सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्नेमा जोड दिए ।  कोइरालाले संविधानमा भएको ब्यवस्था अनुसार श्रमिकलाई समेट्न नसकेकोमा चिन्ता व्यक्त गरे ।  “संविधानमा हामीले आठवटा क्लष्टरलाई समेटेका छौं,” उने भने,  श्रमिक र युवा छुटेका छन्, यसमा नेपाली कांग्रेस गम्भीर छ । तपाईंहरुको सहयोग भएमा आगामी दिनमा पक्कै समेटिनेछ ।”  

त्यस्तै कोइरालाले भुटानी शरणार्थी प्रकरणमा राज्यले नै लागेको घटनाले सबै नेपालीको शिर निहुरिएको बताए ।  कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीहरुको हक अधिकारका लागि पार्टी र सरकार  लागिपर्ने बताए । 

कांग्रेस सुनसरी कांग्रेसका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले श्रमिकका समस्या समाधान गर्न सुझाव दिएका थिए ।  अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।