इटहरी । सुनसरी जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनहरूले भ्रष्टाचार, कालोबजारी, शिक्षा क्षेत्र भित्रको बेथिति रोक्न माग गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईलाई ज्ञापन पत्र बुझाउँदै शिक्षा क्षेत्रको बेथिति रोक्न माग गरेका हुन् । नेपाल विद्यार्थी सङ्घ, नेकपा एमाले निकट अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले संयुक्त ज्ञापन पत्र बुझाउँदै शैक्षिक सत्र सुरु भएको एक महिना वितिसक्दा पनि सुनसरीका निजी शैक्षिक संस्थाहरूले नियमानुसार १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको विवरण सार्वजनिक नगरेको बताएका छन् । तत्काल शुल्कमा एकरूपतासँगै छात्र वृत्तिको पारदर्शिता हुनु पर्ने विद्यार्थी सङ्गठनको माग छ । विद्यार्थी सङ्घ सङ्गठनहरूले तत्काल छात्र वृत्तिको विवरण सार्वजनिक र शुल्कमा एकरूपता कायम गर्ने बारेमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई मार्फत जाँचबुझ तथा अनुगमन गरी एक हप्ता भित्र सबै निजी शैक्षिक संस्थाको विवरण वेबसाइटमा अनिवार्य राख्न निर्देशित गर्न ध्यानाकर्षण गराएका हुन् ।