विराटनगर  ।   विराटनगर महानगरपालिकाको विकासकालागि निजी क्षेत्रसँग सहकार्य गर्नु पर्नेमा जोड दिइएको छ। विराटनगर महानगरपालिकामा भएको एक कार्यक्रममा मेयर नागेश कोइरालाले विराटनगरको विकास र समृद्धिका लागि सहकार्य गर्न निजी क्षेत्रसित आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेश समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सरकार र निजी क्षेत्र बिचको सहकार्यले मात्रै विकास सम्भव हुने बताए ।
महानगरका तर्फबाट महासङ्घका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य अविनाश बोहरा, प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल, कोषाध्यक्ष सुवास आचार्य, सदस्य राजन श्रेष्ठ, दीपक पाण्डे, रविन कुमार दाहाल, श्रवण अग्रवाल, भविष श्रेष्ठ, सरु केसी, यामबहादुर श्रेष्ठ, मनोजविक्रम शाहलगायतलाई  मेयर कोइरालाले बधाई तथा शुभकामना दिएका थिए । 
कोइरालाले महानगर र महासङ्घबिच आगामी दिनमा थप परिणाममुखी सहकार्य गर्न आग्रह गरे ।  प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले कर्मचारीको तहबाट सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता व्यक्त गरे  । 
नवनिर्वाचित अध्यक्ष राउतले महानगरले पछिल्लो समय महानगरवासीले महसुस गर्ने गरी धेरै काम गरेको बताए ।  “सरसफाइ, पार्किङ, सडक बत्तीलगायतका क्षेत्रमा धेरै नै परिवर्तन भएको छ, उनले भने, महानगरले गर्ने जन पक्षीय हरेक काममा हाम्रो साथ र सहयोग रहनेछ ।” 
विकासका सन्दर्भमा महानगरले सम्झेको खण्डमा जुनसुकै बेला उपस्थिति हुने राउतले प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष राउतले महानगरका आर्थिक लगायतका समितिहरूमा महासङ्घको प्रतिनिधित्व गराउन आग्रह गरे ।